टोलटोलमा फिल्म महोत्सव असार ५ गतेदेखि

काठमाडौं महानगरले सार्वजनिक गर्‍याे संकेत चिह्न
मंगलबार, असार २, २०८३

काठमाडौं । काठमाडौं महानगरपालिकाले असार ५ गतेदेखि २६ गतेसम्म हरेक शुक्रबार र शनिबार सार्वजनिक स्थल, पार्क, डबली तथा चोकहरूमा ‘टोलटोलमा फिल्म महोत्सव’ आयोजना गर्ने भएको छ । महानगरले सोमबार पत्रकार सम्मेलन गर्दै महोत्सवको संकेत चिह्न सार्वजनिक गरेको हो । महानगरका अनुसार महोत्सवको उद्घाटन असार ५ गते खुलामञ्चमा हुनेछ भने असार ६ गतेको कार्यक्रम भेहिकल फ्री असन क्षेत्रमा सञ्चालन गरिनेछ । नेपाली चलचित्र क्षेत्रको विकास र विस्तारमा योगदान पुर्‍याउने तथा रचनात्मक उद्योगलाई समुदायसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको महानगरले जनाएको छ । महोत्सवअन्तर्गत लघु चलचित्र तथा चलचित्र प्रदर्शन, कला र रचनात्मक उद्योगसम्बन्धी संवाद, सांस्कृतिक तथा सिर्जनात्मक कार्यक्रम, स्थानीय खानाका परिकारको प्रदर्शनीलगायत गतिविधि सञ्चालन हुनेछन् । चलचित्र प्रदर्शनका लागि एलईडी स्क्रिन, साउण्ड सिस्टम तथा क्युरेटरको व्यवस्था महानगरको सम्पदा तथा पर्यटन विभागले गर्नेछ भने व्यवस्थापन स्थानीय युवाहरूका संस्थाले गर्नेछन् । महानगरले यो कार्यक्रमलाई आगामी दिनमा अन्तर्राष्ट्रिय फिल्म महोत्सवसँग जोडेर विस्तार गर्ने योजना पनि सार्वजनिक गरेको छ । काठमाडौँ महानगरपालिकाले २०८० कार्तिक १४ गते युनेस्को क्रियटिभ सिटीज नेटवर्कमा फिल्म विधाबाट सदस्यता प्राप्त गरेपछि रचनात्मक उद्यमसँग जोडेर फिल्मसँग सम्बन्धित काम थालिएको हो ।  काठमाडौं महानगरपालिका सन् २०२३ मा रचनात्मक सहरको मान्यता प्राप्त गरेको थियो । फिल्म विधाबाट सदस्यता प्राप्त गरेपछि महानगरले चलचित्र तथा रचनात्मक उद्योग प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम अघि बढाउँदै आएको जनाएको छ । महानगरका अनुसार फिल्म क्षेत्रमार्फत स्थानीय संस्कृति, परम्परा र सम्पदाको संरक्षण तथा प्रवद्र्धन, रोजगारी सिर्जना, अनुसन्धान, छात्रवृत्ति, पूर्वाधार विकास, चलचित्र शिक्षा तथा अन्तर्राष्ट्रिय सहकार्यका अवसर विस्तार गरिनेछ। साथै चलचित्र महोत्सव, फिल्म एक्स्पो, फिल्म समिटलगायत कार्यक्रममार्फत निर्माता, लगानीकर्ता र वितरकबीच सञ्जाल निर्माण गरिने लक्ष्य राखिएको छ ।महानगरका प्रवक्ता नविन मानन्धरले जारी गरेको विज्ञप्तिमा टोलटोलमा फिल्म महोत्सव महानगरको रचनात्मक सहर यात्राको प्रारम्भिक कदम भएको उल्लेख गर्दै यसको सफलताका लागि सञ्चारमाध्यम, चलचित्रकर्मी तथा सरोकारवालाको सहयोग अपेक्षा गरिएको छ ।

photo-7_0da2b8c4-1781561126.jpg
 

प्रकाशित मिति: मंगलबार, असार २, २०८३  ०४:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार