बेलायतबाट आएका तीन जनामा नयाँ प्रकारको कोरोनाभाइरस

थप ३२२ जनालाई कोरोना, छ को मृत्यु 
मंगलबार, माघ ६, २०७७

काठमाडौं। गत महिनामा बेलायतबाट नेपाल आएका केही व्यक्तिमा नयाँ प्रकारको कोरोनाभाइरसको सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका अनुसार त्यतिबेला नेपाल फर्किएकामध्ये ६ जनामा कोभिड–१९ पुष्टि भएपछि तीन जनाको नमुना हङ्कङस्थित प्रयोगशालामा पठाइएको थियो । तीन जनामै नयाँ प्रकारको कोरोनाभाइरस फेला परेको र त्यो बेलायतमा देखिएकै प्रकार भएको पुष्टि भएको मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार उनीहरू ६७ र ३२ वर्षका दुई पुरुष र २८ वर्षीया एक महिला हुन् । तीमध्ये अहिले दुई पीसीआर परीक्षणमा भाइरसमुक्त देखिइसकेका छन् भने पजिटिभ देखिएका अर्का व्यक्ति लक्षणमुक्त भएको बताइएको छ । मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा २०७७ साल पुस २७ गते विश्व स्वास्थ्य संगठनको सहयोगमा उनीहरूको नमुना हङ्कङ पठाइएको र इमेलमार्फत नतिजा प्राप्त भएको उल्लेख छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले खोप उपलब्ध नभएसम्म सावधानी अपनाउन र जनस्वास्थ्यका मापदण्ड पालना गर्न सबैलाई आग्रह समेत गरेका छन् । यसअघि नै सरकारले बेलायतबाट नेपाल आउन रोक लगाउने निर्णय गरिसकेको छ । विभिन्न देशको ट्रान्जिट हुँदै आएकालाई होटल क्वारन्टिनमा राखेर परीक्षणपछि मात्र घर जाने व्यवस्था गरेको छ । नेपालमा अहिलेसम्म दुई लाख ६७ हजारभन्दा बढी मानिसमा कोभिड–१९ पुष्टि भएको छ । तीमध्ये अहिलेसम्म ९७।८ प्रतिशत सङ्क्रमित निको भइसकेका छन् भने १,९६५ जनाको मृत्यु भएको सरकारी तथ्यांक छ ।

थप ३२२ जनालाई कोरोना, छ को मृत्यु 

थप ३२२ जनामा कोरोना भाइरस सङ्क्रमण भएको छ । पछिल्लो समय चार हजार ३०६ जनाको पिसिआर परीक्षण गरिएको थियो । थपिएका सङ्क्रमितमध्ये १६३ जना काठमाडौँ उपत्यकाका रहेका छन् । हालसम्म देशभर तीन हजार ८६१ सक्रिय सङ्क्रमित छन् । योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ६७ हजार ६४४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पिसिआर परीक्षण गराउनेको सङ्ख्या २० लाख १६ हजार ७५८ पुगेको छ । 
पछिल्लो समय थप छ कोरोना सङ्क्रमितको कोरोनाबाट मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ९६५ पुगेको छ । थप ३७४ सङ्क्रमित कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । योसँगै नेपालमा कोरोनाबाट निको हुनेको सङ्ख्या द्ुई लाख ६१ हजार ८१८ पुगेको छ । देशभर हाल १९५ कोरोना सङ्क्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत् छन् । तीमध्ये १६१ सङ्क्रमित आइसियुमा तथा ३४ सङ्क्रमित भेन्टिलेटरमा छन् । 
पछिल्लो समय झापामा चार, मोरङमा पाँच, सुनसरीमा दुई, बारामा एक, सप्तरीमा दुई, सर्लाहीमा एक, सिरहामा एक, काठमाडौंमा १४१, काभ्रेमा दुई, चितवनमा २२, धादिङमा एक, नुवाकोटमा १०, भक्तपुरमा सात, मकवानपुरमा पाँच, सिन्धुलीमा दुई, ललितपुरमा १५, कास्कीमा २१, गोरखामा चार, तनहुँमा ६, नवलपरासी पूर्वमा छ, पर्वतमा तीन, म्याग्दीमा चार, लमजुङमा दुई, बागलुङमा ११, अर्घाखाँचीमा तीन, कपिलवस्तुमा तीन, दाङमा तीन, पाल्पामा तीन, बर्दियामा दुई, बाँकेमा १९, रुपन्देहीमा छ र बझाङमा पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, माघ ६, २०७७  ०४:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार