सोसल मिडिया
Contact Us
युनिकोड
खेल पर्यटनका माध्ययमबाट सुदूरपश्चिमलाई चिनाउँछौँ : मुख्यमन्त्री त्रिलोचन भट्ट
गोदावरी ।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले खेल पर्यटनका माध्यमबाट सुदूरपश्चिमलाई चिनाउने बताएका छन् । कैलालीको धनगढीमासुदूरपश्चिम प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उनले त्यसका लागि प्रदेश सरकार योजनाबद्ध रूपमा अघि बढेको बताए । सरकार खेलाडीको सम्मान तथा खेलकुदको विकासका लागि अग्रसर रहेको बताउँदै उनले राष्ट्र तथा प्रदेशलाई चिनाउनका लागि अग्रसर रहेका खेलाडीको सम्मान र खेल क्षेत्रको विकासका लागि पूर्वाधारको व्यवस्थापनमा प्रदेश सरकारले कुनै कमी नगर्ने उल्लेख गरे । सुदूरपश्चिम सरकारले खेलकुदको विकासका लागि कार्यकालको सुरुआतबाटै मुख्यमन्त्री कपको आयोजना गरेको बताउँदै उनले प्रदेशका ८८ वटै स्थानीय तहमा खेलकुद परिषद्को संरचनाको कामलाई तीव्रता दिएको बताए । प्रदेश सरकारले खेलकुद प्रशिक्षणका गतिविधि र सबै जिल्लामा पूर्वाधारको विकासका लागि तीव्रताका साथ काम गरिरहेको उनको भनाइ छ । सो कार्यक्रममा प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले प्रदेशको खेलकुद क्षेत्रलाई थप चलायमान बनाउन खेलकुद परिषद्लाई थप सक्रिय बनाउने काममा प्रदेश सरकार लागिपरेको बताए । प्रदेशका नौ जिल्लाका टिमले सहभागिता जनाउने प्रतियोगिताको विजेतालाई नगद रु एक लाखसहित ट्रफी दिइने पत्रकार सम्मेलनमा सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहको भनाइ छ । प्रतियोगिताको उपविजेतालाई नगद रु ५० हजारसहित ट्रफी दिइनेछ । प्रतियोगिताको सेमिफाइनल सम्म पुग्ने दुई टिमलाई रु २५÷२५ हजार नगदसहित ट्रफी दिइनेछ भने विभिन्न पाँच वटा विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिता सञ्चालनमा झण्डै ५० लाख खर्च हुने अनुमान गरिएको छ । जिल्लालाई टिम छनोटका लागि सुरुमा रु ५० हजार दिइएकामा जिल्लाले आफ्नो जिल्लाको टिम छनोट गरेका छन् । प्रतियोगितामा सहभागी सबै जिल्लाको टिमको यातायातदेखि खाने बस्ने सबै खर्च सुदूरपश्चिम खेलकुद परिषद्ले बेहोर्ने सदस्य सचिव सिंहले बताए । सुदूरपश्चिममै पहिलोपटक म्याटमा प्रतियोगिता सञ्चालन हुँदैछ । प्रतियोगिताबाट उत्कृष्ट खेलाडीलाई समेटेर सुदूरपश्चिम प्रदेशको भलिबल टिम बनाइने सिंहले बताए । उनले ती खेलाडीलाई प्रशिक्षणको व्यवस्था गरी प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइने सुदूरपश्चिम खेलकुद परिषद्ले जनाएको छ ।
ढाई वर्षपछि पाए पुरस्कार रकम
धनगढीमा २०७५ साल चैतमा सम्पन्न मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिता च्याम्पियन टोली सुदूरपश्चिम प्रदेशका खेलाडीले ढाई वर्षपछि पुरस्कार रकम पाएका छन् । सुदूरपश्चिम खेलकुद परिषद्ले पुरस्कार रकम प्रदेशस्तरीय भलिबल प्रतियोगिताको उद्घाटन समारोहमा खेलाडीलाई दिएको हो । ढाई वर्षसम्म सुदूरपश्चिम खेलकुद विकास समिति र प्रदेशको सामाजिक विकास मन्त्रालयको संयुक्त खातामा रहेको रकम बल्ल आएर खेलाडीलाई वितरण गरिएको हो । विभिन्न खेलमा पदक जितेका खेलाडीलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नगद रकमसहित खेलाडीलाई सम्मान गरे । व्यक्तिगततर्फ पहिलो हुनेलाई रु ३५ हजार दोस्रो हुनेलाई रु २५ हजार र तेस्रो हुनेलाई रु १५ हजार नगद दिइएको छ । त्यस्तै समूहतर्फ प्रथम हुने टिमलाई जनही रु २८ हजारका दरले रकम दिइएको छ । त्यस्तै तीन खेलका प्रशिक्षकले प्रतिव्यक्ति नगद रु ११ हजार दिइएको छ । प्रतियोगितामा आयोजक सुदूरपश्चिम प्रदेश तीन स्वर्ण, एक रजत र तीन कास्यसहित च्याम्पियन बनेको थियो । च्याम्पियन टोलीले १५ लाख नगदमा सरकारी कर कट्टा गरी रु ११ लाख २५ हजार रकमलाई वितरण गरिने भएको छ । ब्याडमिन्टनमा दुई स्वर्ण जित्ने देवराज राना र जेबी साउदले जनही रु ३५÷३५ हजार पाउँदा रजत जित्ने नीलिमा महारा र रोशन साउदले जनही रु २५÷२५ हजार पाए । त्यस्तै कास्य पदक जित्ने रोशन साउद प्रियशु सिंह क्षेत्री, अमृत चौधरी, योगेश खड्का र एलिना तिरुवाले जनही रु १५÷१५ हजार पानुभयो । प्रशिक्षक मेघराज कठायतले नगद रु ११ हजार प्राप्त गरे । सुदूरपश्चिमको पुरुष फुटबल र महिला क्रिकेट टोलीले पनि स्वर्ण जितेको थियो । टोलीका सदस्यले जनही रु २८÷२८ हजार पाएका छन् । क्रिकेट प्रशिक्षक ज्ञानेन्द्र क्षेत्रीले नगद रु ११ हजार पाउँदा १४ जना खेलाडीले रु २८ हजारका दरले रकम पुरस्कार प्राप्त गरे । पुरस्कार पाउनेमा कविता कुँवर, कविता जोशी, विन्दु रावल, ईश्वरी विष्ट, जानकी भट्ट, सुमन विष्ट, डल्ली भट्ट, रेवती धामी, निशा भट्ट, मञ्जु बोगटी, लक्ष्मी साउद, रुवी पोदार, सम्झना खड्का र शोभा रोकाया रहेका छन् । पुरुष फुटबलमा प्रशिक्षक रोहित भण्डारीले रु ११ हजार पाउँदा टोलीका १८ जना सदस्यले रु २८ हजारका दरले रकम पुरस्कार प्राप्त गरे । पुरस्कार पाउनेमा गजेन्द्र शाही, माधव भण्डारी, राकेश हमाल, नरेन्द्र चौधरी, कमल देउवा, सन्दीप कुँवर, भगेन्द्र चौधरी, अमानत सेख, जीवन चौधरी, चेतमान कठायत, हिक्मत खत्री, उनेश रेग्मी, टीका थापा, सुनिल धामी, सुनिल शाह, सुरेन्द्र राना, वीर धामी र प्रवीन दाहाल रहेका छन् ।–रासस