संक्रमणदर घट्दै गएपछि रित्तिए तनहुँका आइसोलेसन

बुधबार, असोज २०, २०७८

तनहुँ : 

कोरोना संक्रमणदर घट्दै गएपछि जिल्लामा संक्रमितको उपचार गर्न बनाइएका आइसोलेसन रित्तिएका छन् । जिल्लाका अस्पताल र स्थानीय सरकारले बनाएका आइसोलेसन संक्रमितविहीन भएका हुन् । 

यो साता कोरोना संक्रमित आइसोलेसनमा उपचार गर्न आएका छैनन् । जिल्लामा हाल सक्रिय संक्रमितको संख्या ७९ जना रहेका छन् । सबै होम आइसोलेसनमा छन् । १० वटा स्थानीय तहमध्ये ऋषिङ र घिरिङ गाउँपालिकामा संक्रमितको संख्या शून्य छ । 

संक्रमितको चाप हुने जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौताराको आइसोलेसन गत शुक्रबारदेखि खाली छ । दोस्रो लहर सुरु भएपछि वैशाखयता अस्पतालको आइसोलेसनमा बसेका २२२ जना संक्रमित निको भएर घर फर्किए । तीन जना संक्रमितको मृत्यु भयो । 

आइसोलसन खाली भएपछि यतिबेला मर्मतको काम भइरहेको अस्पतालका कोरोना फोकल पर्सन प्रदीप पौडेलले बताए । ‘आइसोलेसन खाली भएकाले मर्मत र सरसफाइको काम चलिरहेको छ’, उनले भने, ‘हाई फ्लो भएर अक्सिजनको पाइपलाइन फुटेको थियो । मर्मत गर्दै छौँ ।’ 

यहाँ स्थानीय तहले बनाइदिएको भवनमा अस्पतालले अक्सिजनसहितको ३० शय्याको आइसोलेसन चलाएको छ । पाँच शय्यामा आईसीयू र तीन शय्यामा भेन्टिलेटर छ ।

जिल्लाको दमौली अस्पतालको आइसोलेसन पनि रित्तो भएको छ । साउनयता अस्पतालको आइसोलेसनमा ३३ जना संक्रमित बसेका छन् । ‘भदौपछि जटिल समस्या भएका मात्र आएका छन् । एक-दुई जना मात्र संक्रमित आउने भएकाले आइसोलेसनमा चाप छैन’, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिल पौडेलले भने ।

कोरोना संक्रमण पुष्टि भएका तर लक्षण सामान्य भएका संक्रमित होम आइसोलेसनमा बसेकाले आइसोलेसनमा चाप नभएको डा. पौडेलको भनाइ छ । अस्पतालमा कोरोनासँग लक्षण मिल्ने सिजनल फ्लुका बिरामी भने बढेको उनले बताए । ‘लक्षण कोरोनाका जस्तै छन् । एन्टिजेन परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आउँछ’, उनले भने ।

व्यास नगरपालिकाबाहेक अधिकांश स्थानीय तहले बनाएको आइसोलेसन वैशाखदेखि रित्ता छन् । कोरोनाको दोस्रो लहरमा अधिकांश संक्रमित होम आइसोलेसनमा बसेका कारण स्थानीय तहका आइसोलेसन रित्तो बनेका हुन् । 

दोस्रो चरण सुरु भएपछि वैशाखदेखि तनहुँका पाँच हजार ३७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यहाँ १२४ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय तनहुँको तथ्यांकमा उल्लेख छ । जिल्लामा संक्रमणदर घटिरहेको स्वास्थ्य कार्यालयका प्रमुख शंकरबाबु अधिकारीले बताए । उनका अनुसार दैनिक पाँचदेखि १२ जनासम्म कोरोना संक्रमित थपिन्छन् । भाइरल ज्वरोका बिरामी भने बढेको उनले बताए । ‘भाइरल ज्वरोका बिरामी बढेका छन् । कोरोना परीक्षण गर्दा संक्रमण देखिँदैन’, उनले भने ।

व्यास नगरपालिका- १० दुम्सीमा स्थापना गरिएको पीसीआर प्रयोगशालामा औसत दैनिक १५ वटा स्वाबको पीसीआर परीक्षण हुन्छ । तीमध्ये १२ प्रतिशतसम्मको रिपोर्ट पोजिटिभ आएको व्यासले संचालन गरेको अस्थायी कोभिड अस्पतालका डा. सुरज घिमिरेले बताए । दशैँको चहलपहलले संक्रमण बढाउन सक्ने स्वास्थ्यकर्मीहरू बताउँछन् ।

प्रकाशित मिति: बुधबार, असोज २०, २०७८  १९:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार