दक्षिण एशियाली राष्ट्रमध्ये नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर कम

कोरोना भाइरस 
बुधबार, कात्तिक २६, २०७७

काठमाडौं । नेपालमा कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त हुने दर तुलनात्मक रूपमा कम रहेको हुँदा हिउँदमा चिन्ताजनक अवस्था आउनसक्ने विज्ञहरूले बताएका छन् । नेपालमा सङ्क्रमणको उच्च अवस्था ‘पिक टाइम’ अक्टोबरको अन्त्यतिर पार गरिसकेको भए पनि जाडो याम सुरु भएसँगै अर्काे ‘पिक टाइम’ आउने सम्भावना रहेको उनीहरूको मत छ । दक्षिण एशियाली देशहरूको तुलना गर्दा नेपालको सङ्क्रमणमुक्त हुने दर छैठौं स्थानमा छ ।
नेपालमा सङक्रमित हुनेको सङख्या १ लाख ९९ हजार ७६० पुग्दा १ लाख ६० हजार ५७७ जना अर्थात ८० प्रतिशत सङ्क्रमणमुक्त भएका छन् । 
नेपालको चुनौती
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अवैतनिक सल्लाहकार डा. सुरेश तिवारीका अनुसार जाडो याम नजिकिँदा सङ्क्रमणमुक्त हुने दर बढाउने चुनौती रहेको छ । यो दर पछिल्लो तीन सातामा करिब दोबरले बढेको भए पनि अन्य दक्षिण एशियाली मुलुकको तुलनामा नेपाल पछाडि रहेको उनी बताउँछन् । ‘कोरोनाभाइरसका कारण पहिला नै चुनौती छ । त्यसबाहेक जाडो बढेसँगै स्वासप्रश्वाससम्बन्धी सङ्क्रमणको समस्या पनि बढ्छ र वृद्धवृद्धामा समस्या देखिएसँगै मृत्युदर पनि बढ्छ’, डा. तिवारीले भने, ‘यसले गर्दा हामीमाझ चुनौती झन् धेरै छ ।’ उनले व्यवस्थापकको कमजोरीका कारण नेपालमा सङ्क्रमितहरू अन्य देशमा भन्दा लामो समय उपचारमा बस्ने र त्यसले सङ्क्रमणमुक्त हुने दर कम देखिने बताए ।
सङ्क्रमणमुक्त हुने दर कहाँ कति?
भारतमा ८५ लाख ९१ हजारभन्दा बढी सङ्क्रमित र एक लाख २७ हजारभन्दा बढीको मृत्यु भएको छ ।
दक्षिण एशियाली मुलुकमध्ये पाकिस्तानमा कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त हुने दर सबैभन्दा राम्रो रहेको छ ।
सुरुमा सङ्क्रमित हुने र मृत्युदर धेरै रहेको पाकिस्तानमा सङ्क्रमणमुक्त हुने दर ९३.६ प्रतिशत रहेको छ । त्यसपछि माल्दिभ्समा ९३ प्रतिशत रहेको छ । विश्वकै दोस्रो नम्बरमा सक्रिय सङ्क्रमित रहेको भारतको दर नेपालको भन्दा राम्रो छ । त्यहाँ ९२ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् । केही अध्ययनहरूले भारतमा सङ्क्रमितको सङ्ख्या गएको सेप्टेम्बर महिनामा नै उच्च रहेको देखाएका थिए । त्यसकै हाराहारी भुटानमा ९१ प्रतिशत रहेको छ । मृत्युदर सबैभन्दा धेरै रहेको अफगानिस्तानमा पनि सङ्क्रमणमुक्त हुने दर भने नेपालको भन्दा राम्रो रहेको छ । नेपालमा अहिले सङ्क्रमणमुक्त हुने दर ८० प्रतिशत रहेको छ भने अफगानिस्तानमा ८३.३ प्रतिशत रहेको छ । नेपालपछि सङ्क्रमणमुक्त हुने दर बंगलादेश र श्रीलंमा कम रहेको छ । बंगलादेशमा त्यो दर ७९.९ प्रतिशत रहेको छ भने श्रीलंकामा ४७ प्रतिशत रहेको छ ।
नेपालमा लकडाउन खुलेसँगै बजारमा भिडभाड बढेको छ । परीक्षण सङ्ख्या कम भएको र चाडबाडका बीच कन्ट्याक्ट ट्रेसिङ पनि कम भएको एवम् सःशुल्क परीक्षणका कारण सङ्क्रमित र मृत्यु हुनेको सङख्या ‘कृत्रिम’ देखिएको सङ्क्रामक रोग विशेषज्ञ डा. जनक कोइराला बताउँछन् । आइतवार थप सङ्क्रमितको सङ्ख्या २ हजार ८१७ र मृत्यु सङ्ख्या २१ रहेको थियो भने सोमवार सो सङ्ख्या २ हजार ७३६ र २२ थियो । देशभरि ३८ हजार ३५ सक्रिय सङ्क्रमित रहँदा काठमाडौंमा उपत्यकामा मात्रै आधाभन्दा बढी २० हजार २६० सक्रिय सङ्क्रमित छन् । 
काठमाडौ उपत्यकाको मात्रै तथ्याङ्क हेर्ने हो भने दक्षिण एशियामा नेपालको अवस्था भयावह छ । कुल सङ्ख्याभन्दा पनि एक महिना वा दुई महिनाको मृत्यु र सङ्क्रमितको सङख्या दाँज्ने हो भने अवस्था चिन्ताजनक रहेको छ’ डा. कोइराला भन्छन् । दक्षिण एशियाका देशहरूमा सबैभन्दा धेरै मृत्युदर अफगानिस्तानमा रहेको छ । सार्कको विपद् व्यवस्थापन केन्द्रको तथ्याङ्कअनुसार अफगानिस्तानमा मृत्युदर ३.७ प्रतिशत रहेको छ । त्यसपछि पाकिस्तानमा दुई प्रतिशत, भारतमा १.५ प्रतिशत, बंगलादेशमा १.४ प्रतिशत रहेको छ । नेपालमा भने तुलनात्मक रूपमा मृत्युदर कम देखिएको छ । नेपालमा ०.६ प्रतिशत मृत्युदर रहेको छ । त्यसपछि माल्दिभ्समा ०.३ प्रतिशत र श्रीलंकामा ०.२ प्रतिशत छ भने भुटानमा अहिलसम्म कोरोनाभाइरसका कारण कसैको मृत्यु भएको छैन ।

प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०७७  १८:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार