बैतडी अस्पतालमा आइपुग्यो अक्सिजन प्लान्टको सामग्री

सोमबार, असोज १८, २०७८

बैतडी । गत असार मसान्तमै स्थापना हुनुपर्ने जिल्ला अस्पताल बैतडीमा अक्सिजन प्लान्टका लागि आवश्यक केही सामग्री बल्ल आइपुगेको छ । सबै सामग्री आएपछि प्लान्ट जडानको काम सुरु हुने अस्पतालका सूचना अधिकारी हरिश पन्तले बताए । ‘सबै सामग्री आइपुगेपछि जडानको काम सुरु हुन्छ । अब प्लान्ट जडान हुने कुरामा ढुक्क भइएको छ । यसअघि सामग्री समयमा नआउँदा अन्याेल थियो’, उनले भने । जिल्ला अस्पताल बैतडीमा गत असारमै प्लान्ट स्थापनाका लागि संघीय सरकारबाट एक करोड ५० लाख र सुदूरपश्चिम प्रदेश सरकारबाट ८० लाख रुपैयाँ प्राप्त भएको थियो । गत असारभित्र प्लान्ट निर्माण सम्पन्न गर्ने गरी हेल्थ केयर सप्लायर्स काठमाडौं र अस्पतालबीच सम्झौता भएको थियो । तर, सप्लायर्स कम्पनीको लापरबाहीका कारण प्लान्ट जडानमा ढिलाइ भएको हो । लामो समयसम्म अक्सिजन प्लान्ट जडानको काम सुरु नभएपछि अन्याेलता कायम रहेकोमा अब छिट्टै प्लान्ट जडान हुने जिल्ला अस्पतालका प्रमुख डा‍. वसन्तराज जोशीले बताए । अक्सिजन प्लान्ट स्थापना भएपछि कोरोनाका मात्रै नभएर अन्य बिरामीहरूका लागि पनि सहज हुने उनले बताए । जिल्लामा अक्सिजन प्लान्ट नहुँदा कोरोनाको दोस्राे लहरका बेला धेरै बिरामीहरूलाई रेफर गर्नुपरेको थियो । जिल्लामा अहिलेसम्म कोरोनाका कारण १८ जनाको ज्यान गइसकेको तथ्यांक छ । 

प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  १६:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार