आँखाका बिरामीलाई अस्पताल पठाउन धामी-झाँक्रीलाई तालिम

सोमबार, असोज १८, २०७८

खोटाङ । खोटाङमा आँखाका बिरामीलाई स्वास्थ्य संस्थासम्म जाने वातावरण निर्माणका लागि धामी-झाँक्रीलाई तालिम दिइएको छ । झारफुक गर्न धामी-झाँक्रीकहाँ पुग्ने आँखाका बिरामीलाई स्वास्थ्य संस्थासम्म पुग्ने/पुर्‍याउने वातावरण निर्माणका लागि नेपाल नेत्र ज्योति संघ खोटाङको समन्वयमा सगरमाथा चौधरी आँखा अस्पताल लहानले दिक्तेल र हलेसीमा एक दिने परम्परागत हिलर्स ट्रेनिङ आयोजना गरेको हो । झारफुक गर्न आएका आँखाका समस्या भएका बिरामीलाई स्वास्थ्य संस्था वा विशेषज्ञ डाक्टरकहाँ गएर उपचार गराउनका लागि आग्रह गर्न/गराउनका लागि तालिमको आयोजना गरिएको नेपाल नेत्र ज्योति संघका अध्यक्ष इन्द्र कसजूले बताए ।  आँखा उचार केन्द्र दिक्तेलमा आयोजना गरिएको परम्परागत हिलर्स ट्रेनिङमा २८ जना र हलेसीमा आयोजना गरिएको परम्परागत हिलर्स ट्रेनिङमा ३५ जना धामी-झाँक्रीलाई सहभागी गराइएको आयोजकले जनाएको छ । दिक्तेलमा आयोजित तालिममा सहभागी धामी-झाँक्रीलाई आँखा उपचार केन्द्र दिक्तेलका प्रमुख हरिहर श्रेष्ठले सहजीकरण गरेका थिए । ‘गाउँघरमा अझै पनि धामी झाँक्रीकै विश्वास गरिन्छ । गाउँघरमा विरामीको पहिलो सम्पर्क व्यक्ति धामी-झाँक्री नै हो,’ अध्यक्ष कसजूले भने, ‘आँखाका समस्या भएका बिरामीलाई झारफुक मात्र नभएर स्वास्थ्य संस्थामा पठाइदिनका लागि धामी-झाँक्रीलाई तालिम दिइएको हो । बिरामीलाई सुरुमै अस्पताल आउने वातावरण बनाउन धामीलाई सहयोगीका रूपमा तालिम दिइएको नेत्र ज्योति संघका अध्यक्ष कसजूले बताए । 

प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  १०:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार