कोभिड नियन्त्रणमा इलामका स्थानीय तहले गरे चार करोड ९३ लाख खर्च

आइतबार, असोज १७, २०७८

इलाम ।  कोरोना माहामारीको बेला इलामका स्थानीय तहले कोभिड रोकथाम र व्यवस्थापनको लागि चार करोड ९३ लाख ७० हजार रुपैयाँ खर्च गरेका छन् । स्थानीय तहले गत आव २०७७-०७८ को एक वर्षको अवधिमा यति रकम खर्च गरेका हुन् । पालिकाहरुले कोभिड अस्पताल सञ्चालन व्यवस्थापन, औषधि खरीद, कोभिड परीक्षण, कर्मचारी व्यवस्थापन, क्वारेटाइन तथा आइसोलेसन व्यवस्थापनमा खर्च गरेका हुन् । इलामका केही पालिकाले कोरोना रोकथाम र व्यवस्थापनको लागि छुट्टै कोष खडा गरेका थिए भने केही पालिकाले पहिले नै स्थापना गरेको कोषबाट खर्च गरेका थिए । कोरोना महामारी नियन्त्रण र व्यवस्थापनको लागि संघीय सरकारले पालिकालाई बजेट उपलब्ध गराएको थियो । त्यसमा पालिकाहरुले सभाबाटै बजेट विनियोजन गरेका थिए । कतिपय स्थानीय तहले दाताबाटसमेत सहयोग जुटाएर माहामारी नियन्त्रण र व्यवस्थापनमा खर्च गरेका हुन् । 

इलामका दश पालिकाले स्थापना गरेको कोरोना कोषमा विभिन्न स्रोतबाट गरेर छ करोड ५९ लाख ३० हजार रुपैयाँ आम्दानी भएको थियो । त्यसमा चार करोड ९३ लाख ७० हजार रुपैयाँ खर्च गरेर बाँकी रहेको रकम गत आर्थिक वर्षको मसान्तमा मौज्दात रहेको थियो । पालिकाले चालु आर्थिक वर्षमा पनि कोभिड नियन्त्रण तथा व्यवस्थापनको लागि बनेको कोषमा बजेट विनियोजन गरेका छन् । 

कोरोना नियन्त्रण तथा व्यवस्थापनको लागि इलाम नगरपालिकाले एक वर्षमा ५९ लाख पाँच हजार छ सय रुपैयाँ आम्दानी गरेको थियो । त्यसमध्ये ५५ लाख ४४ हजार दुई सय रुपैयाँ असार मसान्तसम्ममा खर्च भएको थियो । त्यस्तै सूर्योदय नगरपालिकाले एक करोड १० लाख रुपैयाँ कोषमा रकम जोहो गरेको थियो । त्यसमध्ये ७९ लाख ५१ हजार रुपैयाँ खर्च भएको छ ।

देउमाई नगरपालिकाले ४० लाख ६८ हजार चार सय रुपैयाँ कोषमा जम्मा गरेर कोभिडको लागि ३७ लाख ११ हजार छ सय रुपैयाँ खर्च गरेको छ । यता माई नगरपालिकाले ९९ लाख ९१ हजार आठ सय रुपैयाँ जम्मा गरेर ६८ लाख ८६ हजार रुपैयाँ कोभिडका लागि खर्च गर्‍यो । 

चुलाचुली गाउँपालिकाले ४२ लाख २१ हजार छ सय रुपैयाँ जोहो गरेर ४१ लाख ६९ हजार आठ रुपैयाँ खर्च गरेको छ । माइजोगमाई गाउँपालिकाले ८१ लाख ८३ हजार रुपैयाँ कोषमा आम्दानी गरेर ५३ लाख ३७ हजार छ सय रुपैयाँ माहामारी नियन्त्रण र व्यवस्थापनमा खर्च गरेको छ । माङसेबुङ्ग गाउँपालिकाले एक वर्षको अवधिमा महामारीको लागि ३३ लाख ५० हजार रुपैयाँ खर्चिएको छ । माङसेबुङ्गले कोभिड नियन्त्रण तथा व्यवस्थापनका लागि ५६ लाख ७६ हजार चार सय रुपैयाँ आम्दानी गरेको थियो । रोङ गाउँपालिकाले ५९ लाख ३२ हजार रुपैयाँ व्यवस्थापन गरेर ५९ लाख रुपैयाँ खर्च गरेको छ । सन्दकपुर गाउँपालिकाले ५४ लाख ६१ हजार आठ सय रुपैयाँ जम्मा पारेर २८ लाख २७ हजार एक सय रुपैयाँ खर्च गरेको छ । फाकफोकथुम गाउँपालिकाले कोभिड नियन्त्रण तथा व्यवस्थापनको लागि ५५ लाख रुपैयाँ आम्दानी गरेर १४ लाख ९३ हजार दुई सय रुपैयाँ खर्च भएको तथ्यांक छ । 

कोरोनाविरुद्ध खोप लगाउनेको संख्या बढ्दै गएपछि इलाममा क्रमश संक्रमितको संख्यासमेत घट्न थालेको छ । जिल्लामा अहिले दुई सय १६ जना सक्रिय संक्रमित छन् । उनीहरुमध्ये तीन जना आईसीयूमा उपचारत छन् भने बाँकी होम आइसोलेसनमा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कोरोना संक्रमणको कारण जिल्लाका १२८ जनाले ज्यान गुमाउने परेको छ । सबैभन्दा धेरै इलाम नगरपालिका क्षेत्रका ३६ जना, सूर्योदय नगरपालिका क्षेत्रका सूर्योदय नगरपालिका क्षेत्रका ३२ जना, चुलाचुलीका २३ जनाले ज्यान गुमाएका छन् । 

प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  १७:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार