मुम्बई इन्डियनलाई आइपीएलको ट्रफी 

आइपिएल फाइनल 
बुधबार, कात्तिक २६, २०७७

काठमाडौं । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको १३औँ इन्डियन प्रिमियर लिग (आइपिएल) को फाइनल खेल रोहित शर्माको कप्तानीमा रहेको मुम्बई इन्डियन्सले जितेको छ । दिल्ली क्यापिटल्सले दिएको १५७ रनको लक्ष्य १८.४ ओभरपमा पूरा गरी जित हात पारेको हो । 
मुम्वई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई पाँच विकेटले हराउँदै आईपीएल क्रिकेट जितेको हो । यो सँगै मुम्वईले पाँचौ पटक आईपीएलको उपाधी हात पारेको छ । आईपीएलमा मुम्वईको यो लगातार दोस्रो जित हो । दिल्ली क्यापिटल्स पहिलो पटक फाइनलमा पुगे पनि इतिहास बनाउनबाट चुकेको छ । 
टस जितेर ब्याटिङमा उत्रेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५७ रनको चुनौती दिएको थियो । मुम्वईले यो लक्ष्य १८.४ ओभरमा पाँच विकेट गुमाउँदै हाँसिल ग¥यो । मुम्वईका लागि कप्तान रोहित शर्माले ६८ रन बनाए । ईशान किशनले ३३ रन र क्रुणाल पान्डेले एक रन बनाए ।
दिल्लीका लागि कप्तान श्रेयस अय्यरले ६५ रन, ऋषभ पन्तले ५६ रन बनाए । उनीहरुले चौथो विकेटका लागि ९६ रनको साझेदारी गरे । साविक विजेता मुम्बई इन्डियन्सलाई पहिलो पटक फाइनल पुगेको दिल्ली क्यापिट्ल्सले सात विकेटको क्षतिमा १५७ रनको चुनौती दिएको हो । टस जितेर पहिला ब्याटिङ गरेको दिल्लीले खराब सुरुवात गरे पनि तीन ओभरपछि सम्हालिएर ब्याटिङ गरेको थियो । दिल्लीले तीन ओभर खेल्दा तीन विकेट गुमाइसकेको थियो । पूरै २० ओभर खेल्दै दिल्लीले सात विकेटको क्षतिमा १५६ रन बनाएको थियो । दुबईस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मार्कस स्टोइनिस पहिलो बलमै आउट हुँदा दिल्लीलाई ठूलो झड्का लागेको थियो । त्यसैगरी दोस्रो ओभरमा दिल्लीका अर्का ब्याट्सम्यान अजिन्क्या रहाने आउट भए भने तेस्रो ओभरमा शिखर धवन आउट भए । 
पहिलो बलमै स्टोइनिस र दुई रन बनाएका अजिन्क्या आउट भएका थिए ।  दुवै विकेट ट्रेन्ट बोल्टको नाममा रह्यो । त्यसैगरी दिल्लीका भरोसा मानिएका अर्का ओपनर शिखर धवनलाई १५ रनमै जयन्त यादवले बोल्ड आउट गरेका थिए ।  सुरुवात खराब भए पनि दिल्लीका लागि कप्तान श्रेयस अयर र रिसभ पन्तले अर्धशतकीय इनिङ्स खेल्दै दिल्लीलाई उकासेका थिए । पन्तले ३८ बलमा ५६ रन बनाएका थिए भने कप्तान श्रेयसले नटआउट ५० बलमा ६५ रन बनाए । 
दिल्लीका शिमरोन हेटमायर पाँच रनमा आउट भए भने अक्षर पटेल नौ रनमा आउट भए । कासिगो राबडा अन्तिम बलमा शून्य रनमै आउट भए । नेपाली लेग स्पीनर सन्दीप भने यो सिजनमा बेन्चमै रहे । मुम्बईका ट्रेन्ट बोल्ट ३, नाथन कुल्टर नाइल २ र जयन्त यादबले १ विकेट लिए ।
मुम्बईले ट्रफीमाथि कब्जा जमाउँदा सर्वाधिक पाँचपटकको विजेताको ताज पहिरिएको छ । फाइनल भिडन्त रोमाञ्चक तथा प्रतिस्पर्धात्मक भएको थियो । मुम्बईले सन् २०१३, २०१५, ०१७ र ०१९ मा उपाधि जितेको थियो । अहिलेसम्म आइपिएलमा दिल्ली र मुम्बईबीच २७ पटक खेल भएको छ । मुम्बईले १५ तथा दिल्लीले १२ खेलमा जित निलेका छन् । 
लगातार दुई शतक बनाउने धवन एक्लो
श्रयेस इयेरको कप्तानीमा यसपटक दिल्लीले दुवै लिग चरणमा उत्कृष्ट प्रदर्शन ग¥यो । दिल्लीले समूह चरणमा शीर्ष दुई स्थान रक्षा गर्दै प्ले अफ स्थान सुरक्षित गरेको थियो । दिल्लीको यो यात्रामा बायाँहाते ब्याट्सम्यान शिखर धवनको योगदान मुख्य मानिन्छ । आइपिएल इतिहासमा लगातार दुई खेलमा शतकीय इनिङ्स खेल्ने धवन एक्लो ब्याट्सम्यान हुन् । उनले चालू सिजनमा ६ सय ३ रन बटुलेका छन् । उनले चेन्नई सुपर किंग्स र किंग्स ११ पन्जाबविरुद्ध लिग चरणको लगातार खेलमा शतक बनाएका थिए । चेन्नईविरुद्ध एक सय एक तथा पन्जावविरुद्ध एक सय ६ रन बनाएका धवनले समग्रमा १२ छक्का र ६४ चौका लगाए । दुवै टोलीबाट फाइनल खेल्ने खेलाडीमध्ये धवन मात्र पाँच सय रन कटाउने खेलाडी हुन् । 
ब्याटिङ लाइनअप बलियो
तथ्यांक हेर्ने हो भने दिल्ली र मुम्बईको ब्याटिङ लाइनअप निकै बलियो मान्नुपर्छ । दुवै पक्षका ओपनर फर्ममा रहँदा विपक्षी बलर निरीह देखिन्छन् । दिल्लीबाट धवनबाहेक कप्तान इयेरले १६ खेलमा चार सय ४५ रन बनाएका छन् । उनले यसक्रममा १४ छक्का र ३४ चौका लगाएका छन् । अलराउन्डर मार्काेस स्टोनिसले दिल्लीबाट १६ खेलमा सहभागिता जनाउँदै तीन सय ५२ रन बनाएका छन् । दोस्रो प्ले अफमा सनराइजर्स हैदराबादलाई निराश पार्दा स्टोनिसले अलराउन्डर प्रदर्शन गरेका थिए ।
यता मुम्बईको ब्याटिङ मुख्य गरी तीन ब्याट्सम्यानमाथि निर्भर देखिएको छ । इशान किसनले १३ खेलमा मौका पाउँदा चार सय ८३ रन बनाएका छन् । उनले २९ छक्का र ३३ चौका प्रहार गरे । चालू आइपिएलमा सर्वाधिक छक्का प्रहार गर्ने ब्याट्सम्यानको सूचीमा उनी शीर्ष स्थनमा छन् । ओपनर क्विन्टन डी कोकले १५ खेलमा चार सय ८३ रन बनाए । यसक्रममा उनले २१ छक्का र ४३ चौका हिर्काए । युवा ब्याट्सम्यानमा सूर्यकुमार यादवले १५ खेलबाट चार सय ५१ रन जोडेका छन् । उनले १० छक्का र ६० चौका ठोके । 
फर्ममा मुम्बई
यसपटकको आइपिएलमा मुम्बईले दिल्लीलाई तीनैपटक हराएको छ । मुम्बईको सफलतामा सबै खेलाडी उत्कृष्ट फर्ममा छन् । दिल्लीका खेलाडीको प्रदर्शन उतारचढाव देखिन्छ । विश्लेषकहरूले मुम्बईको टोलीलाई पर्फेक्ट ११ भन्ने गरेका छन् । पहिलोदेखि सात नम्बरसम्म मुम्बईको ब्याटिङ लाइनअप खम्बाझैँ छ । यो बलियो ब्याटिङमा विपक्षी बलरसमेत दबाबमा पर्न सक्छन् । अझ अलराउन्डर हार्दिक पाण्ड्या, कुणाल पाण्डया तथा किरन पोलार्डले मुम्बईलाई थप बलियो बनाएका छन् । 
यस्तै, दिल्लीको पनि बलियो पक्ष बलिङ हो । दिल्लीसँग विश्वस्तरीय बलर छन् । किगिसो रावडा, मार्काेस स्टोनिस तथा रविचन्द्रन आश्विनको बलमै दिल्लीले विपक्षीको ब्याटिङ कमजोर बनाएको छ । 

बुमराह र रावडाबीच टक्कर
ब्याटिङका साथै बलिङमा पनि त्यत्तिकै फाइनल रोमाञ्चक बन्न सक्छ । दुवै पक्षका बलर उत्कृष्ट फर्ममा छन् । मुम्बईका जसप्रित बुमराह र दिल्लीका रावडाबीच टक्कर हुने सम्भावना छ । जसप्रितले १४ खेलमा २७ विकेट लिएका छन् । उनले एक सय ६७ बल डट फ्याँक्दा दुई ओभर मेडन गरेका छन् । यसैगरी रावडाले १६ खेलमा २९ विकेट लिँदै जसप्रितलाई चुनौती दिइरहेका छन् । रावडाले एक सय ५० बल डट फ्याँके । न्युजिल्यान्डका बलर ट्रेन्ट बोल्टले जसप्रितलाई उत्तिकै साथ दिँदा मुम्बईको बलिङ आक्रामक पक्ष थप मजबुत देखिएको छ । ट्रेन्टले १४ खेलमा २२ विकेट हात पारे । उनले तीन मेडन फ्याँकेका छन् । अर्काेतिर दिल्लीका एन्रिच नोटर्जेले १५ खेलमा २० विकेट लिँदा एक सय ५४ बल डट फ्याँके । मुम्बईका स्पिनर राहुल चाहरले १५ खेलमा १५ नै विकेट लिए । आश्विनले १४ खेलमा १३ विकेट हात पारेका छन् । 
ब्रान्ड भ्यालु र महँगो खेलाडी
फाइनलमा आमने–सामने हुने दुवै टोलीको ब्रान्ड भ्यालु राम्रो छ । मुम्बईको ब्रान्ड भ्यालु आठ सय नौ करोड भारु रहेको छ । दिल्लीको ब्रान्ड भ्यालु तीन सय ७४ करोड भारु रहेको छ । दुवै टोलीमा महँगा खेलाडी छन् । मुम्बईका कप्तान रोहित शर्मा १५ करोड भारु तथा हार्दिक ११ करोड भारुमा रिटेन भएका हुन् । यसैगरी दिल्लीका रिषभ पन्त १५ करोड भारु र सिमोन हेटमेर ७.४५ करोड भारुमा अनुबन्धित भएका खेलाडी हुन् । यी चारै खेलाडी फाइनल खेल्नेमध्ये महँगामा पर्छन् । 

फाइनलको पिच
साँझको समयमा दुबईको रंगशालामा २३ देखि ३२ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ । फाइनल खेलाइने पिच बलरका लागि राम्रो मानिएको छ । स्लो पिच भएकाले नै स्पिनरले बढीभन्दा बढी फाइदा उठाउन सक्नेछन् । यो मैदानमा यसपटक १५ खेल भएका छन् । तीमध्ये पहिलो ब्याटिङ गर्ने टोलीहरूले ६४ प्रतिशत जित निकालेका छन् । अहिलेसम्म यो मैदानमा २५ वटा टी–२० खेल भएका छन् । तीमध्ये पहिलो ब्याटिङ गर्नेले १६ तथा दोस्रो ब्याटिङ गर्नेले नौपटक जित निकालेका छन् । आइपिएलको इतिहासमा यस मैदानमा बनेको दुई सय १९ रन नै ठूलो योगफल हो । यहाँ एक सय नौ रन नै कम योगफल हो ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०७७  ०६:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार