थप २७० मा कोरोना भाइरस सङ्क्रमण पुष्टि

शुक्रबार, माघ २, २०७७

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप २७० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीनहजार ८४ जनाको स्वास्थ्य परीक्षण गर्दा ९० महिला र १८० पुरुष गरी सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । 
आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ६६ हजार ८१६ पुगेको छ । त्यस्तै पछिल्लो समय थप ३९० निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ६० हजार ५६७ पुगेको छ । सोमध्य निको हुने दर ९७.७ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ । 
अहिले देशभर चार हजार ३०१ सक्रिय सङ्क्रमित छन् । उनीहरूमध्ये २३१ जना क्वारेन्टिनमा रहेका छन् भने अन्य आइसोलेसनमा रहेका छन् । हालसम्म २० लाख पाँच हजार १२५ को पिसिआर परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १७२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सोमा ५९ महिला र ११३ पुरुष रहेका छन् ।  

थप पाँचको मृत्यु  
हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ९४८ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप पाँच जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । 

कोरोनाविरुद्धको खोप पत्रकारलाई प्राथमिकतामा राख्न माग

नेपाल पत्रकार महासङ्घ कास्कीको १५औँ साधारण सभाले नेपालमा कोरोनाविरुद्धको खोप आयसँगै सञ्चारकर्मीलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने माग गरेको छ । साधारण सभाले १० बुँदे घोषणा पत्र जारी गर्दै समाचार सम्प्रेसणका क्रममा ज्यानको जोखिम मोलेर अग्रपङ्क्तिमा खटिने सञ्चारकर्मी कोरोनाको उच्च मारमा रहेको जनाइएको छ ।
विश्वव्यापी रूपमा पैmलिएको कोरोना भाइरसका कारण विभिन्न सञ्चार संस्थाले श्रमजीवी पत्रकार र कर्मचारी निष्कासन गर्ने, बेतलवी बिदामा राख्ने र जागिर छाड्नका लागि मानसिक तनावसमेत दिएको पाइएकाले त्यस्ता गतिविधि तत्काल बन्द गर्न सम्बन्धित सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।
महामारीको अवस्थामा पनि सरकार र सञ्चार संस्था जिम्मेवार बन्न नसकेको महसुस गर्दे थप जिम्मेवार र संवेदनशील बन्न आग्रह गर्दै घोषणापत्रमा श्रमजीवी पत्रकार ऐन व्यवहारिक कार्यान्वयनका लागि सशक्त भूमिका खेल्न नेपाल पत्रकार महासङ्घ केन्द्रलाई आग्रह गर्दे सञ्चारमाध्यमलाई जिम्मेवार बन्न अनुरोध गरिएको छ ।
प्रेससँग सम्बन्धित नीति निर्माण गर्दा सङ्घीयताको मर्मअनुरूपको संरचना तयार गरिनुपर्नेमा जोड दिँदै महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार सङ्कुचन हुने गरी कुनै पनि ऐन कानून र नियमावली नबनाउन तीनै तहका सरकारसँग आग्रहसमेत गरेको छ । महासङ्घले शुरु गरेको पत्रकार शुद्धीकरण कार्यलाई निष्कर्षमा पु¥याउनाका साथै क्रियाशील पत्रकारलाई सदस्यता वितरण गर्न माग गर्दै पारित प्रस्तावमा महासङ्घलाई व्यवहारिकरूपमा समावेशी बनाउनका लागि आवश्यक व्यवस्था मिलाउन अनुरोध गरिएको छ । पत्रकारिता पेशालाई मर्यादित, जवाफदेही र आकर्षणयुक्त बनाउन क्षमता अभिवृद्धिका योजना सञ्चालन गर्नुपर्नेमा पारित प्रस्तावमा जोड दिइएको छ । कोरोना सङ्क्रमण कोभिड—१९ का कारण दिवङ्गत हुनुहुने श्रमजीवी पत्रकारसहित सम्पूर्णको आत्माको चिरशान्तिको कामना गर्दै उपचारारतको उचित व्यवस्था गर्न सम्बन्धित निकायसँग आग्रह गरिएको छ । पत्रकार महासङ्घ कास्कीका ३३ जना पत्रकारलाई कोरोना सङ्क्रमण भएकामा सबै सङ्क्रमणमुक्त भई कार्य क्षेत्रमा सक्रिय रहनुभएको छ । शाखामा हाल ३०० जना सदस्य आबद्ध छन् । 

कोरोनाबाट महिलाको मृत्यु

बाँकेमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१ का ८० वर्षीया महिलाको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या भएपछि गतपुस २६ गते मेडिकल कलेज नेपालगञ्जमा भर्ना भएकी ती महिलाको भोलिपल्ट कोरोना रिपोर्ट पोजेटिभ आएपछि भेरी अस्पताल रिफर गरिएको थियो । रोगको प्रकृतिअनुसार सबै किसिमको उपचार गर्दा पनि महिलाको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि उनको मृत्यु भएको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो । योसँगै बाँकेमा कोरोना सङ्क्रमणबाट ४९ जनाको मृत्यु भइसकेको छ ।–रासस
 

प्रकाशित मिति: शुक्रबार, माघ २, २०७७  २२:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार