सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ न्यु डायमण्ड फाइनल प्रवेश गरेको छ । शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा विभागीय नेपाल पुलिस क्लबलाई पराजित गर्दै न्यु डायमण्ड फाइनल प्रवेश गरेको हो । प्रतिस्पर्धात्मक खेलमा न्यु डायमण्डले ३–२ सेटमा खेल आफ्नो पक्षमा पारेको हो । पहिलो सेटमा सुरुवातबाटै पुलिसले अग्रता बनायो । उसले कुनै पनि समय न्यु डायमण्डलाई खुलेर खेल्न दिएन र पहिलो सेट २५–१८ ले सहज जित हात पार्यो । दोस्रो सेट न्यु डायमण्डले २५–१७ ले जित्दै सेट १-१ को स्थितिमा ल्यायो । तेस्रो सेट पुनः पुलिसले आफ्नो नियन्त्रणमा लियो । पुलिसले २(१ को अग्रता बनाउने क्रममा २५–२१ ले तेस्रो सेट जित्यो । चौथो सेट पुनः न्यु डायमण्डले २५–१७ ले जित्दै २–२ को बराबरी गर्यो ।
अन्तिम सेटमा न्यु डायमण्डले समालिएको खेल प्रदर्शन गर्दै सेट १५–१० ले जित्यो ।
अब उपाधिका लागि न्यु डायमण्डले एपीएफ क्लबको सामना गर्नेछ । आज बिहान भएको पहिलो विभागीय प्रतिस्पर्धामा आर्मी क्लबलाई पराजित गर्दै एपीएफ लगातार दोस्रो पटक फाइनल प्रवेश गरेको छ ।
यस्तै आज नै पुरुष तर्फको सेमिफाइनल खेल रहेको छ । पहिलो सेमिफाइनलमा हेल्प नेपाल र नेपाल पुलिस तथा दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।