देशभर बुधबार थपिए एक हजार १५७ कोरोना सङ्क्रमित 

बुधबार, असोज १३, २०७८

काठमाडौँ ।  पछिल्लो २४ घण्टामा एक हजार १५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले १४ हजार ५४१ मा कोरोना परीक्षण गर्दा एक हजार १५७ मा सङ्क्रमण पुष्टि भएको जानकारी दिए । आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित १८ हजार १९३ पुगेको छ । उनका अनुसार ५०० बढी सङ्क्रमित भएका जिल्ला नौ र २०० बढी सङ्क्रमित भएका जिल्ला १९ छन् ।  सो अवधिमा एक हजार ११३ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म सङ्क्रमणमुक्त हुने सात लाख ६४ हजार ८४७ छन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९६.३ प्रतिशत छ । सङ्क्रमणका कारण सो अवधिमा आठ जनाको मृत्यु भएको छ ।  हालसम्म सङ्क्रमणबाट ११ हजार १२३ को मृत्यु भइसकेको छ । हाल देशभर ३५४ जना सघन उपचार कक्ष (आइसियु) , ९९ भेन्टिलेटर, १६ हजार ८७८ होम आइसोलेशन, एक हजार ३१५ जना संस्थागत आइसोलेशन र २४४ जना क्वारेन्टिनमा छन् । आज दुई लाख ८६ हजार १४५ ले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । हालसम्म नेपालमा ७२ लाख १४ हजार ७४२ ले पहिलो मात्रा र ६२ लाख ३८ हजार एकले पूर्ण मात्राको खोप लगाएका छन् । 

सुदूरपश्चिममा ३३ सङ्क्रमित थपिए
सुदूरपश्चिम प्रदेशमा बुधबार थप ३३ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट ९८९ को नमूना परीक्षण गर्दा ३३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । 
पच्चिस जनामा आरटी पीसीआर र आठ जनामा एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो । पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा १८, जिल्ला अस्पताल बैतडीमा चार, डडेल्धुरा अस्पतालमा दुई र महाकाली अस्पतालमा एक जनामा सङ्क्रमण पुष्टि भएको हो । एन्टिजेन विधिमार्फत कञ्चनपुरमा पाँच, कैलाली, डोटी र अछाममा  एक÷एक जनामा सङ्क्रमण देखिएको हो ।  
यस्तै सो अवधिमा प्रदेशभर १७ जनाले कोरोना जितेका छन् भने उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन । यसअघि मङ्गलबार यस प्रदेशमा थप १८ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि हुँदा २१ जना सङ्क्रमणमुक्त भएका थिए ।  

प्रदेश १ मा २५३ कोरोना सङ्क्रमित थपिए
प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा २५३ जना कोरोना सङ्क्रमित थपिएका छन् ।  एक  हजार २८९ जनाको पीसीआर परीक्षण गर्दा १९२ तथा ५३० जनाको एन्टिजेन परीक्षण गर्दा ६१ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका क्रममा झापामा ७०, मोरङमा ६८, सुनसरीमा ३७, इलाममा ६, पाँचथरमा चार, सङ्खुवासभामा तीन, धनकुटामा दुई तथा ताप्लेजुङ र तेह्रथुममा एक एक जनामा सङ्क्रमण पुष्टि भएको हो । स्थानीय पालिका अनुसार झापाको विर्तामोडमा १५, भद्रपुर र कनकाईमा १२-१२, मेचीनगरमा आठ, दमकमा सात, अर्जुनधारामा ६, हल्दिबारी र बुद्धशान्तिमा तीन तीन, बाह्रदशीमा दुई तथा शिवसताक्षी र झापा गाउँपालिकामा एक÷एक सङ्क्रमित थपिएका छन् । 
यस्तै मोरङको विराटनगरमा ३८, पथरीशनिश्चरेमा १२, सुन्दरहरैचा र बेलबारीमा ६-६, लेटाङ र उर्लाबारीमा दुई-दुई तथा बूढीगङ्गा र कटहरीमा एक एक, सुनसरीको इटहरीमा २२, धरानमा ६, दुहवीमा चार, इनरुवा र रामधुनीमा दुई-दुई, गढीमा एक, इलामको चुलाचुलीमा तीन, इलाम नगरपालिकामा दुई र सूर्योदयमा एक, पाँचथरको फिदिममा दुई, फाल्गुनन्द र स्थानीय तह नखुलेका एक एक, सङ्खुवासभाको खाँदबारी, मादी र स्थानीय तह नखुलेका एक एक, धनकुटाको धनकुटा नगरपालिका र पाख्रीबासमा एक÷एक, ताप्लेजुङ र तेह्रथुममा एक÷एक जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
प्रदेशमा आज ४७ महिलासहित ११६ जना सङ्क्रमणमुक्त भएका छन् । सो अवधिमा दुई महिलासहित तीन जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असोज १३, २०७८  २१:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार