आइतबार थपिए ८३४ जना कोरोना सङ्क्रमित

आइतबार, असोज १०, २०७८

काठमाडौँ ।  पछिल्लो २४ घण्टामा देशभर ८३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १३ हजार ७३६ जनाको पीसीआर र एन्टिजेन परीक्षणमा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । आठ हजार ५८९ जनाको पीअीसार परीक्षण गर्दा ७३० र पाँच हजार १४७ जनाको एन्टिजेन परीक्षण गर्दा १०४ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर एक हजार २७९ जना सङ्क्रमणमुक्त भएका छन् । यस अवधिमा नौ सङ्क्रमितको मृत्यु भएको छ ।  देशभर १९ हजार १४२ जना सक्रिय सङ्क्रमित छन् । सत्र हजार ८१३ होम आइसोलेशनमा तथा एक हजार ३२९ जना संस्थागत आइसोलेशनमा छन् । त्यस्तै ३६८ सघन कक्षमा र १२० जना भेन्टिलेटरमा छन् । देशभर २३० सङ्क्रमित क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर एक लाख दुई हजार ३०१ ले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिममा सातामै न्यून सङ्क्रमण
सुदूरपश्चिम प्रदेशमा आज गएको एक हप्तायताकै सबैभन्दा कममा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । यहाँ आज १० जनामा मात्रै सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।  
यसअघि असोज ३ गते यस प्रदेशमा चार जनामा मात्रै सङ्क्रमण देखिएको थियो । त्यसयता सङ्क्रमणदर बढ्दै गएकामा आज घटेको हो । असोज ४ गते ५३, असोज ५ गते ३९, असोज ६ गते ३८, असोज ७ गते ४६, असोज ८ गते ३४ र असोज ९ गते २१ जनामा सङ्क्रमण पुष्टि भएको थियो । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट ८७२ जनाको नमूना परीक्षण गर्दा १० जनामा सङ्क्रमण पुष्टि भएको छ । सात जनामा एन्टिजेन र तीन जनामा पीसीआर विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो । 
पीसीआर विधिमार्फत डडेल्धुरा अस्पतालमा दुई र महाकाली अस्पतालमा एक जनामा तीन जनामा सङ्क्रमण पुष्टि हुँदा एन्टिजेनमा कञ्चनपुरका छ र बैतडीका एक जनामा सङ्क्रमण देखिएको हो । यस्तै गएको २४ घण्टामा प्रदेशभर २५ जनाले कोरोना जितेका छन् भने उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन । यसअघि शनिबार यस प्रदेशमा २१ जनामा सङ्क्रमण पुष्टि हुँदा ४१ जना सङ्क्रमणमुक्त भएका छन् । 

प्रकाशित मिति: आइतबार, असोज १०, २०७८  २०:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार