भारतमा कोरोना खोपलाई २०० देखि २९५ रूपैयाँसम्म पर्न सक्ने

बुधबार, पुस २९, २०७७

नयाँदिल्ली । भारतमा कोरोनाविरुद्धको प्रति खोपलाई २०० देखि २९५ रूपैयाँसम्म पर्न सक्ने अनुमान गरिएको छ । केन्द्रीय स्वास्थ्य सचिव राजेश भूषणले प्रत्येक खोपको खर्च २०० देखि २९५ रूपैयाँसम्म पर्न सक्ने मङ्गलबार जानकारी दिएका हुन् । भारतमा कोभिशिल्ड र कोभ्याक्सीन गरी दुई वटा खोप आपत्कालीन अवस्थामा प्रयोग गर्न आधिकारिक निकायले अनुमति दिएको छ ।   
भारतले अहिलेसम्म कोरोनाभाइरसविरुद्धको ५४ लाख खोप भण्डारण गरेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले जनाएका छन् । पहिलो चरणमा यो खोप देशका विभिन्न ठाउँमा वितरण गरिने छ । भारतमा यही जनवरी १६ तारिखदेखि कोरोनाविरुद्धको खोप लगाउन शुरु गर्नेे तयारी भइरहेको महानिर्देशक भूषणले जानकारी दिए । भारत सरकारले गत सन् २०२० को मे महिना अगाडि नै कोरोनाभाइरस विरुद्धको खोप विकास गर्न वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूलाई खटाएको थियो । उनीहरूले नै यसको विकास गरेका हुन् । ‘कूल ११० लाखको सङ्ख्यामा कोभिशिल्ड खोप उत्पादन गर्ने कार्य भइरहेको छ, यो काम सेरम इन्ष्टीच्यूड अफ इन्डीया (एसआईआई)ले गरिरहेको छ’, भूषणले भने । त्यसैगरी अर्को खोप कोभ्याक्सीन ५५ लाखको सङ्ख्यामा उत्पादन गर्ने कार्य भइरहेको छ । यो खोप भारत बायोटेक इन्टरनेशनल लिमिटेड (बीबीआईएल)ले गरिरहेको हो । त्यसका लागि प्रतिखोप २९५ रूपैयाँ लाग्ने बताइएको छ । दुवै खोप यही जनवरी १४ सम्ममा सरकारलाई प्राप्त भइसक्ने र त्यसको दुई दिनपछि लगाउन थाल्ने सरकारको योजना रहेको छ ।    

शुरुमा ३० करोडलाई खोप दिइने
भारतले कोरोनाभाइरस विरुद्धको खोप यही शनिबारदेखि आम सर्वसाधारणलाई प्रदान गर्न थाल्ने जनाएको छ । सुरक्षा चिन्ता, कमजोर पूर्वाधार र आम जनतामा रहेको सन्देहबीच झण्डै एक अर्ब ३० करोड जनतालाई खोप दिने कार्य निकै जटिल हुनेछ । त्यहीकारण पहिलो प्राथमिकतामा राखेर सरकारले जुलाईसम्ममा करिब ३० करोड मानिसलाई खोप दिने तयारी शुरु गरेको छ । भारत विश्वमै सबैभन्दा बढी जनसंख्या भएको दोस्रो मुलुक हो । भारतमा भन्दा चीनको जनसंख्या बढी छ । खोपका लागि ७०० जिल्लामा करिब एक लाख ५० हजार कर्मचारी परिचालन गरिएको छ । उनीहरुले तालिम समेतका आवश्यक जानकारी दिइएको छ । भारतले आपतकालीन प्रयोगका लागि भन्दै पहिलो चरणमा तीन करोड स्वास्थ्यकर्मी तथा ५० वर्ष वा सोभन्दा बढी उमेरका व्यक्ति तथा स्वास्थ्य जोखिममा रहेका २७ करोड व्यक्तिलाई खोप दिने तयारी गरेको छ । अधिकारीहरुले पोलियो र अर्बुद रोगसम्बन्धी बालबालिकालाई नियमित खोप दिइरहेकाले कोभिड–१९ विरुद्धको खोप लगाउन त्यति समस्या नहुने बताएका छन् ।
राष्ट्रिय खोप इन्स्टिच्यूटका सत्यजित राठले बालबालिकालाई खोप लगाउनुभन्दा कोभिड–१९ विरुद्धको खोप लगाउनु निकै जटिल र चुनौतीपूर्ण रहेको बताए । भारतले प्रयोगमा ल्याउन लागेका खोपहरुमा अस्ट्राजेनिकाले स्थानीय साझेदारी सेरम इन्स्टिच्यूटसँग मिलेर तयार पारेको कोभिसिल्ड र भारत बायोटेकले विकास गरेको कोभ्याक्सिन रहेका छन् । यी दुबै खोपलाई चिसो ठाउँमा राख्नुपर्ने हुन्छ । सरकारले २९ हजार चिस्यान विन्दुहरु, २४० वटा कुलर, ७० वटा फ्रिजर, ४५ हजार रेफ्रिजेरेटर, ४१ हजार डिपफ्रिज र ३०० वटा सोलार रेफ्रिजेरेटरको व्यवस्था गरेको छ । कोरोनाभाइरसको संक्रमणबाट एक लाख ५० हजारभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ । कोरोनाभाइरसका कारण भारत विश्वमै आर्थिक रुपमा सबैभन्दा बढी प्रभावित भएको छ, र लाखौं मानिसले आफ्नो रोजगारी गुमाएका छन् । हालै भारतका १८ हजार व्यक्तिमा गरिएको सर्वेक्षणमा झण्डै ६९ प्रतिशतले कोभिड–१९ को खोप लिन आफूहरुलाई हतारो नभएको बताएका थिए । सेरम इन्स्टिच्यूटले भारतमा आफूले उत्पादन गरेको खोप व्यक्ति र संस्थालाई पनि बेच्ने गरी अनुमति पाएको छ । सेरमको खोप भारतमा भारु १००० तोकिएको छ । 

सङ्क्रमितको सङ्ख्या एक करोड चार लाख ७९ हजार पुग्यो 

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या मङ्गबारसम्म एक करोड चार लाख ७९ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १२ हजार ५८४ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड चार लाख ७९ हजार १७९ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण १६७ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५१ हजार ३२७ जना पुगेको छ । भारतमा कोरोना भाइरस सङ्क्रमणको कारण २०० भन्दा कम व्यक्तिको मृत्यु आज दोस्रो दिन भएको सो मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो विवरणमा भारतमा एक करोड एक लाखभन्दा बढी व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा दुई लाख १६ हजार ५५८ सक्रिय सङ्क्रमित रहेका छन् । भारतको राष्ट्रिय राजधानी दिल्लीमा आइतबार ३०६ जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको र १३ जनाको मृत्यु भएको छ । भारतमा कोभिड¬¬–१९ शुरु भएयता भाइरस सङ्क्रमणको कारण दिल्लीमा १० हजार ६९१ भन्दा बढीको मृत्यु भइसकेको छ । यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले आइतबारसम्म देशभर १८ करोड २६ लाख ५२ को हाराहारीमा नमूना परीक्षण गरेको छ । –एएफपी 
 

प्रकाशित मिति: बुधबार, पुस २९, २०७७  ०५:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार