सुदूरपश्चिममा कोरोना सङ्क्रमणबाट हालसम्म ५८८ को मृत्यु

शुक्रबार, असोज १, २०७८

डोटी : सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म ५८८ जनाको मृत्यु भएको छ ।  सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार यो प्रदेशमा हालसम्म तीन लाख ३३ हजार ७५५ जनाको परीक्षण गर्दा ४६ हजार ७५७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।  कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि यहाँका सरकारी कार्यालय, गैरसरकारी सङ्घसंस्थाले विभिन्न स्वास्थ्य सामग्री वितरण गर्नुका साथै जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन् । यहाँका नागरिकले त्यसको वास्ता नगर्दा कोरोना जोखिम बढ्दै गएको निर्देशनालयको आँकलन छ । सुदूरपश्चिम प्रदेशमा कोरोना जोखिम कायमै रहेका कारण यहाँका नागरिकले निकै सचेतना बढाउनुपर्ने प्रदेश स्वास्थ्य निर्देशक डा गुणराज अवस्थीले बताए । उनले भने, ‘कोरोना जोखिम कायमै छ, त्यसैमा चाडबाडका बेला पनि सुरु हुन थालेकाले जोखिम झनै बढ्न सक्छ, सबैले सावधानी अपनाउनु जरुरी भएको छ ।’  पछिल्लो समय सुदूरपश्चिममा चाडपर्व तथा मेला निर्वाधरुपमा सञ्चालन भइरहेका र ती मेला पर्वमा नागरिकको उल्लेख्य सहभागिता हुने गरेका कारण पनि यहाँ कोरोना जोखिम बढ्न सक्ने स्वास्थ्यकर्मी बताउँछन् ।–रासस 

प्रकाशित मिति: शुक्रबार, असोज १, २०७८  १३:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार