चिकित्सकविहीन जिल्ला अस्पताल

इमरजेन्सी सेवा नै प्रभावित, विरामी निजीमा चर्को शुल्क तिर्न बाध्य
बिहीबार, भदौ ३१, २०७८

उदयपुर । जिल्ला अस्पताल गाईघाटमा दरबन्दीअनुसार चिकित्सक नहुँदा उपचारमा समस्या भएको छ । अस्पतालमा सहसचिव स्तर प्रमुख कन्सल्टेन्ट ११औं तहसहित १० जना कन्सल्टेन विशेषज्ञसहित १४ जना मेडिकल अधिकृतको स्वीकृत दरबन्दी रहेको अस्पताल अहिले चिकित्सकविहीन बनेको पुगेको छ । स्वास्थ्य मन्त्रालयले चिकित्सक समायोजन गर्ने भन्दै उच्च तहले यहाँ कार्यरत कर्मचारीको अन्यत्रतिर सरुवा र पदस्थापना काज खटाएपछि जिल्ला अस्पताल चिकित्सकविहीन भएको हो । चिकित्सकको अभाव भएसँगै उदयपुर अस्पतालमा प्रसूति सेवालगायत आकस्मिक सेवासमेत प्रभावित भएको छ । यहाँ भएकालाई अन्यत्रतिर सरुवा पदस्थापना गरिदिने र यहाँ रिक्त ठाउँमा भने पदपूर्ति नगर्दा जिल्ला अस्पताल चिकित्सकविहीन हुन पुगेको हो । अस्पतालको हालत यस्तो भएपछि सर्वसाधारणले चर्काे शुल्क तिरेर निजी स्वास्थ्य संस्थामा उपचार गर्न जान बाध्य हुनु परेको छ । जिल्ला अस्पताल गाईघाटमा सहसचिव ११औं तहका मेडिकल सुपरिडेण्ड प्रमुख कन्सल्टेन्ट एक, कन्सल्टेन्ट विशेषज्ञ नौ, मेडिकल अधिकृत चार र अन्य प्राविधिक र कर्मचारी गरी ५९ जनाको दरबन्दी रहेको छ । तर प्रमुख कन्सल्टेन्टसहित आठ जना कन्सल्टेन्ट विशेषज्ञ मेडिकल अधिकृत, नर्सिङ अधिकृत, फिजियोथेरापिष्टको दरबन्दी खाली गरेको जिल्ला अस्पतालका सूचना अधिकारी बुखबहादुर खत्रीले जानकारी दिए । त्यसैगरी आठवटा स्टाफ नर्समा चारवटा रिक्त रहेको, रेडियोग्राफर प्रदेशमा समायोजन भएपछि यहाँ अर्को नआएको, फार्मेसी सुपरभाइजर र वायोमेडिकल सहायक दुवै खाली रहेको, कम्प्युटर अपरेटर, खरिदार, सवारी चालक र ११ वटा कार्यालय सहयोगीसमेत ३३ दरबन्दी रिक्त रहेको सूचना अधिकारी खत्रीले बताए । ५० शैय्याको अस्पतालमा चिकित्सक अभावले आकस्मिक सेवा पनि बेलाबेलामा प्रभावित हुँदै आएको छ । आकस्मिक सेवामा कम्तिमा पनि पाँच जना स्वास्थ्यकर्मी हुनुपर्नेमा तीन जनामात्र भएकोले २४ सै घण्टा सेवा प्रवाह गर्न अति नै कठिन भएको आकस्मिक सेवाका इन्चार्ज श्यामकुमार चौधरीले बताए । अस्पतालमा रहेको दरबन्दीअनुसार चिकित्सकको व्यवस्था गर्न माथिल्लो निकायलाई पटक पटक जानकारी गराउँदासमेत हालसम्म कुनै सुनुवाइ नभएको र दैनिक एक सय ५० भन्दा बढीको संख्यामा बिरामी आउने गरेकोले अस्पताल परिसरमा बिरामीले समस्या बेहोर्नु परेको सूचना अधिकारी खत्रीले बताए । करिब पाँच बिगाहा जग्गाको क्षेत्रफलमा रहेको जिल्ला अस्पतालको १५ शैय्याबाट क्षमता विस्तार गरी २०७० सालमा ५० शैय्याको बनाइएसँगै आवश्यक जनशक्तिका लागि दरबन्दी सिर्जना गरे पनि मन्त्रालय र विभागले दक्ष प्राविधिक कर्मचारी पठाउन नसक्दा अस्पताल भवनमा मात्र सीमित हुन पुगेको छ । भौतिक संरचनामा जिल्ला अस्पताल अब्बल मानिए पनि सेवा प्रभावकारी नभएपछि अहिले दैनिक आउने बिरामीलाई रेफर सेन्टरको रुपमा विकास भएको छ । २०३८ सालमा बनेको भवन जिर्ण बनेपछि २०६८ सालमा छ करोड ५३ लाख रुपैयाँको लागतमा निर्माण भएको सुविधा सम्पन्न २५ कोठाको दुई तले पक्की भवन अस्पतालले पाएको छ । अस्पताल भवनमात्र नभएर चिकित्सकका लागि आठ परिवारलाई बस्न मिल्ने चारवटा सुविधा सम्पन्न आधुनिक डिजाइनका आवास गृह निर्माणाधीन रहेको छ । अस्पताल लामो समयदेखि निमित्त मेडिकल सुपरिटेन्टेट (मेसु) जीवनारायण मण्डलको भरमा चलिरहेको छ । दरबन्दीका उनी एक्ला चिकित्सक हुन् । बाँकी करारको चिकित्सकका भरमा अस्पताल चलेको छ । दरबन्दीमा रहेको झण्डै ६० प्रतिशत कर्मचारी खाली हुँदासमेत स्वास्थ्य मन्त्रालयले चिकित्सक नपठाएको स्थानीयको गुनासो छ । सरकारले स्थायी दरबन्दीका चिकित्सकहरु नपठाउँदा उदयपुरवासीले स्वास्थ्यको गुणस्तरीय सेवा पाउन सकेको छैनन् । अस्पताल करारको चिकित्सकको भरमा रहेकोले उपचार प्रणाली नै संकटमा परेको सूचना अधिकृत खत्रीको भनाइ छ । चिकित्सक अभावको बारेमा बारम्बार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा जानकारी दिएको उनले बताए । तर मन्त्रालयले जिल्ला अस्पतालको सम्पूर्ण व्यवस्थापन प्रदेश सरकारको मतहतमा गएकोले उतै सम्पर्क गर्न आग्रह गरे  । प्रदेश १ को सामाजिक विकास मन्त्रालय विराटनगरले भने आठौं तहसम्मको कर्मचारीको व्यवस्थापन आफूले गर्ने र त्योभन्दा माथिल्लो तहको मुख्मन्त्री कार्यालयले गर्ने भएको बताए । सरकारले निःशुल्क भनेको औषधि र चिकित्सकको अभावमा यहाँ आएका बिरामीहरुले राम्रो र भरपर्दाे उपचार नपाएपछि अन्य अस्पतालमा ठूलो धनराशी खर्च गरेर जान बाध्य हुने गरेको र यसबाट सर्वसाधारणलाई झनै पीडा हुने गरेको स्थानीयको भनाइ छ । २० हजार ५४ घरधुरीका एक लाख ४ हजार ५१७ जना मानिसको बसोवास रहेको त्रियुगा नगरपालिका र यससँग सीमा जोडिएका खोटाङ, भोजपुर लगायतका पहाडी जिल्लालाई समेत पायक पर्ने भएकोले यहाँ बिरामीको चाप अधिक हुने गर्दछ । तर दरबन्दीअनुरुप अस्पतालमा एकै जना पनि विशेषज्ञ चिकित्सक नभएको र अध्ययन सकेर प्राक्टिकल (सिकाई अभ्यास) गर्न आउने चिकित्सकको भरमा जिल्ला अस्पताल चलेको छ । करारमा आउने चिकित्सक पनि २ जनामात्र छन् । 

प्रकाशित मिति: बिहीबार, भदौ ३१, २०७८  १५:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार