सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । विश्वभरि कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका मानिसको सङख्या पाँच करोड नाघ्दा नेपालमा सङ्क्रमितको कुल सङख्या दुई लाख पुग्न लागेको छ । कोरोनाभाइरस महामारीसम्बन्धी तथ्याङकको अभिलेख राख्दै आएको अमेरिकास्थित जोन्स हप्किन्स यूनिभर्सिटीका अनुसार संसारभरि १२.५७ लाख मानिसको कोभिड–१९ सँग सम्बन्धित कारणले मृत्यु भइसकेको छ । नेपालमा १,१२६ सङ्क्रमितको मृत्यु भएको सरकारी तथ्याङक छ । सङ्क्रमितको सङख्या दुई लाख पुग्न लागेको नेपाल कोरोनाभाइरस प्रभावित देशको सूचीमा ३४ औँ स्थानमा भएको जोन्स हप्किन्स यूनिभर्सिटीको तथ्याङकले देखाएको छ । तर धेरै देशमा पर्याप्त परीक्षण नगरिएकाले कोरोनाभाइरसबाट प्रभावित मानिसको सङख्या अझै बढी हुनसक्ने बताइन्छ । विश्वभरि एकचौथाइ सङ्क्रमितहरू महामारीको दोस्रो लहरमा थपिएको समाचारसंस्था रोएटर्सले जनाएको छ । एक करोड २५ लाखभन्दा बढी सङ्क्रमित भेटिएको र तीमध्ये ३,०५,७०० जनाको मृत्यु भएको युरोप महादेशमा फेरि सङ्क्रमण व्यापक रूपमा फैलिएको हो । यो वर्षको आरम्भतिर पनि युरोप कोरोनाभाइरस महामारीको केन्द्रबिन्दु थियो । अमेरिकामा सङ्क्रमितको सङख्या एक करोड पुग्न लागेको छ । अमेरिकामा तीन दिनदेखि दैनिक वृद्धि १,२५,००० रहेको छ । अमेरिकामा राष्ट्रपति–निर्वाचित जो बाडइनले उक्त महामारी नियन्त्रण गर्न आक्रामक उपाय अवलम्बन गर्ने वाचा गरेका छन् । पदासीन राष्ट्रपति डोनल्ड ट्रम्पले कोभिड–१९ को प्रकोपलाई कम आँक्ने गरेका थिए । उनले भौतिक दूरी र मास्क लगाउने कुराको पनि विरोध गरेका थिए । फ्रान्समा गत सातादेखि दोस्रो चरणको लकडाउन सुरु भएको छ । त्यहाँ डिसेम्बर १ सम्म विभिन्न गतिविधिमा रोक लगाइएको छ । मानिसहरूले काममा जानै पर्ने हुँदा, अत्यावश्यक सामान किन्न जाँदा, औषधोपचारका लागि र दैनिक एक घण्टा व्यायाम गर्नबाहेक घरबाट बाहिर निस्किन पाउँदैनन् । बेलायतमासर्वाधिक मानिसको कोभिड–१९ का कारणले मृत्यु भएको छ । कोरोनाभाइरसबाट नराम्ररी प्रभावित देशमध्ये अमेरिकापछि भारत र ब्रजिल दोस्रो र तेस्रो स्थानमा छन् । दक्षिण एशियामा सबैभन्दा कम प्रभावित देश भुटान हो भने त्यसपछि माल्दिभ्स र श्रीलङका हुन् । भारतमा अहिलेसम्म ८५.५३ लाख मानिसमा कोभिड–१९ पुष्टि भएको छ भने १,२६,६०० भन्दा केही बढी मानिसको मृत्यु भएको छ । दक्षिण एशियामा भारतपछि सङ्क्रमितको सङख्याका आधारमा बंगलादेश, पाकिस्तान र नेपाल छन् । सोमवार नेपालमा २,५७१ सङ्क्रमित थपिएको र १८ जनाको मृत्यु भएको पुष्टि भएको छ । अहिले नेपालमा ३६,१७४ जनामा सक्रिय सङ्क्रमण छ भने १,९७,०२४ सङ्क्रमितमध्ये १,५९,७२४ जना निको भइसकेका छन् । सोमवार काठमाडौंमा१,१३६ जनासहित अतिप्रभावित राजधानी उपत्यकामा १,४२८ सङ्क्रमित थपिएका छन् । अहिले काठमाडौं उपत्यकामा १९,३८४ सक्रिय सङ्क्रमित छन् । यो कुल सक्रिय सङ्क्रमितको आधाभन्दा बढी हो ।