फुटबल टोली प्रशिक्षण गर्न कतार जाँदै 

बिहीबार, भदौ २४, २०७८

काठमाडौं :  आगामी साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोली आज कतार प्रस्थान गर्दैछ ।  अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रशिक्षणका लागि कतार प्रस्थान गर्ने नेपाली टोलीलाई बिदाइ गर्न लागेको हो । बिदाइ कार्यक्रम अपरान्ह ४ बजे सोल्टी होटलमा राखिएकाे छ । नेपालले कतारमा १६ दिन प्रशिक्षण गर्नेछ ।  साफ १ देखि १६ अक्टोबरसम्म माल्दिभ्सको राजधानी मालेमा हुनेछ । साफमा नेपालसहित बंगलादेश, माल्दिभ्स, भारत र श्रीलंकाको सहभागिता जनाउने छन् । कोरोनाका कारण भुटानले नाम फिर्ता लिएको छ भने फिफा प्रतिबन्धका कारण पाकिस्तानले सहभागीता जनाउन पाउने छैन ।  नेपालले गत १७ र २० भदौमा साफ च्याम्पिनसिप तयारी लागि भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । दशरथ रंशगशालामा भएको पहिलो मैत्रीपूर्ण खेल १-१ को बराबरीमा समाप्त भएको थियो । दोस्रो खेल भारतले २-१ गोल अन्तरले आफ्नो पक्षमा पारेको थियो ।  एन्फाले कतार भ्रमण तयसँगै मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी २१ भदाैमै कतार प्रस्थान गरेका थिए । कतार भ्रमणमा टोलीका डिफेन्डर रोहित चन्द उपलब्ध हुने छैनन् । उनी इन्डोनेसियाको लिग वान खेल्न व्यस्त छन् । उनी साफ अगाडि टोलीमा जोडिने छन् । अन्य खेलाडी भने भारतविरुद्ध मैत्रीपूर्ण खेलेका खेलाडी नै हुने छन् । कतार भ्रमणबाट नेपाली टोली २७ सेप्टेम्बरमा माल्दिभ्स पुग्नेछ । 

प्रकाशित मिति: बिहीबार, भदौ २४, २०७८  १४:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार