पपुवा न्युगिनीले नेपाललाई दियो एक सय ३५ रनको लक्ष्य, सन्दीपले लिए चार विकेट

मंगलबार, भदौ २२, २०७८

काठमाडौं । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा पपुवा न्युगिनीले नेपाललाई एक सय ३५ रनको लक्ष्य प्रस्तुत गरेको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पपुवा न्युगिनी ३३ ओभरमा अलआउट हुँदै एक सय ३४ रनमा समेटिएको हो । पपुवा न्युगिनीलाई सस्तो रनमा समेट्ने क्रममा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिए । डेब्यु विक्रम सोब र कुशल मल्लले समान दुई विकेट लिए । सोमपाल कामीले एक विकेट लिए भने एक खेलाडी रन आउट भएका थिए । पपुवा न्युगिनीका लेगा सियकाले ३८ बलमा ३० रन बनाए । कार्लेस अमिनीले २३ र गाउदी टोकाले २२ रन बनाए । यसअघि टस जितेर पपुवा न्युगिनीले ब्याटिङ रोजेको थियो । पपुवा न्युगिनीविरुद्ध ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलसँगै तीव्र गतिका बलर विक्रम सोबले सिनियर टोलीका लागि डेब्यु गरेका छन् । नेपाली टोलीमा दिपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, करण केसीलाई आराम दिएको छ । दोस्रो खेल शुक्रबार हुनेछ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजअघि नेपालले पपुवा न्युगिनीसँग खेल्न लागेको हो । नेपालले त्रिदेशीय शृंखलामा २८ भदौमा अमेरिका, २९ भदौमा ओमान, १ असोजमा अमेरिका र  २ असोजमा ओमानसँग खेल्नेछ । 

प्रकाशित मिति: मंगलबार, भदौ २२, २०७८  १४:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार