स्थानीय तह धाउँदै बैंक

मंगलबार, भदौ २२, २०७८

काभ्रेपलाञ्चोक ।  सरल कर्जा उपलब्ध गराउने जनाउँदै बैंक स्थानीय तह धाउन थालेका छन् । उद्यमशीलताको विकास एवं प्रवद्र्धन गर्ने उद्देश्य राख्दै बैंकहरूले काभ्रेपलाञ्चोकको स्थानीय तहका जनप्रतिनिधिसँग सम्झौता थालेका हुन् ।
यही भदौ ११ गते नबिल बैंकले पनौती नगरपालिका र पाँचखाल नगरपालिकासँग एकैदिन स्थानीय जनप्रतिनिधिसँग सरल कर्जा लगानी गर्ने जनाउँदै विभिन्न शर्त राखी सम्झौता ग¥यो । उद्यमशीलताको विकास एवं प्रवद्र्धन गर्न आतुर पाँचखाल नगरले वित्तीय संस्थासँगका सम्झौता निकै उपलब्धि मानेको छ । उद्यम गर्न चाहने स्थानीयवासीका लागि नगरको सिफारिसमा सहजरूपमा सरल कर्जा उपलब्ध गराउने उद्देश्यले नबिल बैंकसँग साझेदारी सम्झौतापत्रमा दुई पक्षबीच हस्ताक्षर भएको थियो ।
“वित्तीय संस्थासँग लगानीका क्षेत्रमा सम्झौता गर्नु निकै राम्रो हो, नगर विकास, उद्यमशीलता र रोजगारीमा बैंकसँग हातेमालो गर्दै जानेछौँ”, नगरप्रमुख महेश खरेलले भने । उनका अनुसार सामाजिक रुपान्तरणमा यो अभियानले पनि सार्थकता पाउँदै जानेछ । सम्झौतामा उद्यम गर्न चाहनेलाई आह्वान गरी तालिम तथा अभिमुखीकरण गराएर उद्यमशीलतामा आकर्षण गर्ने उद्देश्यसमेत उल्लेख गरिएको छ । उद्यम गर्न चाहनेले भने स्थानीय तहको सिफारिस लिनुपर्ने नीति बनाइएको छ ।
बैंकका बागमती प्रदेश प्रमुख अमित श्रेष्ठले सरकारको दिगो विकास लक्ष्यलाई सहयोग गर्न गत असारमा विपन्न वर्ग लक्षित किसान कर्जा र उद्यमशीलताका लागि दिगो बैंकिङ कार्यक्रम सार्वजनिक गरिएको बताए । “हामी पनि विकासमा साझेदारी बन्न चाहन्छौँ, यसका लागि स्थानीय तहका ग्रामीण भेगमा जानु अझ उत्तम देखिएको छ”, उनले भने । बैंकरले भने यसलाई अन्य वित्तीय संस्थासँगको प्रतिस्पर्धा नठान्न अपिल गरिरहेका छन् ।
बैंकले पनौती नगरसँग सम्झौता गरेकाले निम्न वर्गीय किसान तथा उद्यमीलाई बलियो बनाउने नगरप्रमुख भीम न्यौपानेले बताउँछन् । उनी भन्छन्,  “वास्तविक किसान तथा उद्यमी पहिचान गरी बैंकसम्म पु¥याई नगर विकासमा सहयोग गर्न सबै लाग्नुपर्छ ।” बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजित शाक्यले भने अबको एक वर्षमा सफलताका कथा सुन्न आतुर रहेको बताउँछन् । उनका अनुसार काभ्रेपलाञ्चोकको अन्य स्थानीय तहमा क्रमशः यस्तै प्रकृतिका कार्यक्रम लिएर गइनेछ ।
यस्तै इन्फ्रास्टक्चर बैंक लिमिटेड गत साउन दोस्रो साता पाँचखाल नगरलाई ‘स्मार्ट सिटी’ बनाउने योजनामा लगानी गर्न सात शर्त राखेर सम्झौता ग¥यो ।  सार्वजनिक–नीजि साझेदारीमा (सबल, सक्षम, समावेशी र समृद्ध पूर्वाधार) परियोजनामा लगानी, निर्माण एवं सञ्चालन गर्ने समझदारीपत्रमा हस्ताक्षर गरिएको थियो । नगरप्रमुख महेश खरेल र बैंकका कार्यकारी अधिकृत रामकृष्ण खतिवडाद्वारा हस्ताक्षरित सम्झौतामा स्मार्ट सिटीका लागि व्यवस्थित गर्नुपर्ने पूर्वाधारलगायत निजी–साझेदारी माध्यमबाट नगरलाई स्मार्ट बनाउने विषयमा सात बुँदे सम्झौता गरिएको हो । लगानी सम्मेलन गरेर नगरको थप विकासमा लाग्ने योजना कोरोना सङ्क्रमणको जोखिमले थाँती रहेपछि आफू पनि साझेदारीमा वैकल्पिक योजनाको खोजी भइरहेको नगरप्रमुख खरेलले बताए । 
खरेलका अनुसार हालै सम्झौता गरिएको स्मार्ट सिटी लगानीको एउटा वैकल्पिक योजना हो । “विशेषगरी कृषि र पशुपालनमा लगानीकर्तालाई आकर्षण बनाउन सकिन्छ”, खरेलले भने । उनका अनुसार बैंकले चाहेमा कृषि तथा पशुपालन क्षेत्रमा आधुनिकीकरण, सौर्य ऊर्जा, प्रविधि र पर्यटकीयस्तरका ठूला होटल, उद्योग स्थापनार्थमा लगानीमा प्रस्ताव गर्न स्थानीयवासीलाई प्रोत्साहित गरिनेछ ।
हाल पाँचखालमा विशेष आर्थिक क्षेत्र (सेज) निर्माणाधीन अवस्थामा रहेको छ भने मदन भण्डारी अन्तर्राष्ट्रिय विश्वविद्यालयका लागि बजेट विनियोजन गरी प्रक्रिया सुरु भएको छ । साथै बृहत् सुनकोशी–पाँचखाल खानेपानी आयोजनाको काम भइरहेको छ भने राष्ट्रिय युवा परिषद्द्वारा निर्माण हुने ‘नेशनल युथ इनोभेसन सेन्टर’ तथा एकीकृत तथा स्मार्ट सिटीका लागि पनि जमिन छुट्याइएकाले पनि थप लगानीकर्ता र रोजगारदाता आवश्यक रहेको नगरले जनायो ।

प्रकाशित मिति: मंगलबार, भदौ २२, २०७८  ०८:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार