५२२ सङ्क्रमित थपिए  

मंगलबार, पुस २१, २०७७

काठमाडौ । नेपालमा थप ५२२ जना कोभिड–१९ का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर चार हजार ५५१ जनाको पिसिआर परीक्षण भएकोमा ३३८ पुरुष र १८४ महिला गरी ५२२ मा कोरोना पुष्टि भएको हो । गत २४ घण्टामा काठमाडौँ उपत्यकामा १३९ पुरुष र ९३ महिला गरी २३२ सङ्क्रमित भेटिएका छन् ।
हालसम्म देशभर कोरोना सङ्क्रमितको कूल सङ्ख्या दुई लाख ६२ हजार ७८४ पुगेको छ । अहिले देशभार पाँच हजार २२५ कोरोना सङ्क्रमित छन् । पछिल्लो २४ घण्टामा ५७८ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । योसहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ५५ हजार ६६६ पुगेको छ । निको भएको दर ९७ दशमलव ३ प्रतिशत रहेको छ । गत २४ घण्टामा कोरोन सङ्क्रमणबाट थप आठ जनाको मृत्यु भएसँगै कूल मृतक सङ्ख्या एक हजार ८९३ पुगेको छ । अहिले २०३ आइसियु र ४४ जना भेन्टिलेटरमा उपचाररत छन् ।

टोखाले तीन हजार व्यक्तिको ‘एन्टीजिन परीक्षण’ गर्ने 
टोखा नगरपालिकाले तीन हजार व्यक्तिको निःशुल्क ‘एन्टीजिन परीक्षण’ गर्ने भएको छ ।  काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सहकार्यमा आगामी हप्ता तीन हजार व्यक्तिको निःशुल्क ‘एन्टीजिन परीक्षण’ गर्न लागेको हो । 
स्वास्थ्य मन्त्रालयको विज्ञ टोलीसँग बसेको बैठकले आगामी आइतबारदेखि ‘एन्टीजिन परीक्षण’ शुरु गर्ने निर्णय गरेको नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले जानकारी दिए । बढी भीडभाड हुने क्षेत्रमा गर्न लागिएको परीक्षणको नतिजा आधा घण्टाभित्रै आउनेछ ।  एकैपटक ५०० भन्दा बढी व्यक्तिलाई ‘एन्टीजिन परीक्षण’ गर्न सकिने नगरपालिकाले जनाएको छ । ‘एन्टीजिन परीक्षण’का लागि पनि कोभिड–१९ को परीक्षण जस्तै स्वाब सङ्कलन गरिने प्रवक्ता बस्यालले बताए । ‘एन्टीजिन परिक्षण’ कोभिड–१९ को परीक्षणका लागि गरिने पिसिआर परीक्षणभन्दा सस्तो हुने नगरपालिकाले जनाएको छ । टोखा नगरपालिकाले हालसम्म ६ हजार ७२२ जनाको कोभिड–१९ को परीक्षण सम्पन्न गरिसकेको नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले जानकारी दिए । 
काठमाडौँ महानगरपछि सबैभन्दा धेरै सङ्क्रमित टोखामा रहेका छन् । उक्त नगरपालिकामा हालसम्म तीन हजार ७५२ सङ्क्रमित भइसकेका छन् । सङ्क्रमितमध्ये ९७.२८ प्रतिशत निको भएको टोखा नगरपालिकाले जनाएको छ । यस्तै टोखामा कोरोना सङ्क्रमणबाट १० जनाले ज्यान गुमाइसकेका छन् । यस्तै टोखामा रहेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले पनि ५४ श्यया छुट्याएर कोरोना सङ्क्रमित बिरामीको उपचार गर्दै आएको छ । जसमा हालसम्म ४२३ सङ्क्रमितले उपचार पाइसकेको अस्पतालका सहनिर्देशक डा विनोद बिजुक्छेले जानकारी दिनुभयो ।
 

प्रकाशित मिति: मंगलबार, पुस २१, २०७७  २१:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार