बेलायतमा फेरि लकडाउन घोषणा

मंगलबार, पुस २१, २०७७

लण्डन । नयाँ प्रकारको कोरोनाभाइरस फैलिन थालेपछि बेलायतमा फेरि लकडाउन घोषणा गरिएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार देशव्यापी लकडाउन घोषणा गरेका हुन् । उनले लकडाउन फेब्रुअरी मध्यसम्म लागू हुने जानकारी दिएका छन् । कोरोनाभाइरस विरुद्धको खोप प्रयोग गर्ने पहिलो राष्ट्र भएपनि बेलायतमा नयाँ प्रकारको कोरोनाभाइरस तिव्र रुपमा फैलिन थालेको छ । प्रधानमन्त्री जोन्सनले आम नागरिकलाई फेरि पनि घरमै बस्न आह्वान गरेका छन् । 
उनले अत्यावश्यक कामका लागि मात्रै बाहिर निस्कन आग्रह गरेका छन् । गत वर्षको मार्चमा जस्तै उच्च सतर्कता अपनाउनु पर्ने अवस्था रहेको उनको भनाइ छ । ‘नयाँ प्रकारको भाइरस तिव्ररुपमा फैलिएको छ, त्यसैले यो समय उच्च सतर्कता अपनाउनु पर्ने समय हो’ उनले भने । उनले बेलायती अस्पतालमा बिरामीको चाप धेरै हुन थालिसकेको र थप तयारी गर्नु पर्ने अवस्था रहेको पनि उल्लेख गरेका छन् । एक टेलिभिजनमा बोल्ने क्रममा उनले देशभरी फेरि अर्को महामारी फैलिन सक्ने खतरा पनि उत्तिकै रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । मंगलबारदेखि लकडाउन अन्तर्गत प्राथमिक तथा माध्यमिक विद्यालय र कलेज बन्द गर्न लगाइएको छ । भौतिकरुपमा उपस्थित भएर गरिने शिक्षण प्रक्रिया अपनाउँदा कोरोना फैलिन सक्ने खतरा औँल्याइएको छ । विश्वविद्यालयका विद्यार्थी पनि मध्य फेब्रुअरीसम्म विश्वविद्यालय नफर्किने भएका छन् । 
मानिसलाई घरबाटै काम गर्न आग्रह गरिएको छ भने घर छाड्नु पर्ने बाध्यतालाई पनि न्यूनीकरण गर्न भनिएको छ । अघिल्लो हप्ताको तुलनामा सोमबार कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या ३० प्रतिशत बृद्धि भएको छ ।–एपी
 

प्रकाशित मिति: मंगलबार, पुस २१, २०७७  २०:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार