सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौ । देशभर पछिल्लो २४ घण्टामा थप ४०३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार ४०१ को स्वास्थ्य परीक्षण गर्दा १५९ महिला र २४४ पुरुष गरी सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । योसहित नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ६२ हजार २६२ पुगेको छ । त्यस्तै पछिल्लो समय थप ५९४ निको भएका छन् । यो सँगै निको हुनेको सङ्ख्या दुई लाख ५५ हजार ८८ (९७.३ प्रतिशत) रहेको छ । अहिले देशभर पाँच हजार २८९ सक्रिय सङ्क्रमित छन् । उनीहरूमध्ये ३४२ जना क्वारेन्टिनमा रहेका छन् भने अन्य आइसोलेशनमा छन् । हालसम्म १९ लाख ५२ हजार ९०३ को पिसिआर परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ८२ महिला र १०३ पुरुष गरी १८५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ८८५ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप सात जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।
प्रदेश नं १ मा ३० हजार सङ्क्रमित प्रदेश नं १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २९ हजार नाघेको छ । प्रदेशमा पछिल्लो २४ घण्टाको १६ जना सङ्क्रमित थपसँगै अहिलेसम्म जम्मा सङ्ख्या २९ हजार ८५५ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङमा १३ हजार ११२, सुनसरीमा आठ हजार ९४७, झापामा चार हजार ६४६, उदयपुरमा ४९४, इलाममा ४७२, सङ्खुवासभामा ३४१, धनकुटामा २०७, पाँचथरमा १४५, ताप्लेजुङमा १२०, तेह्रथुममा ११९, खोटाङमा ९६, भोजपुरमा ८५, ओखलढुङ्गामा ४७, सोलुखुम्वुमा ३७ जनामा सङ्क्रमण देखिएका छन् । प्रदेश बाहिरका एक हजार १७ जनामा कोरोना सङ्क्रमण भएका छन् । प्रदेशमा सोमबार ८१ जना सङ्क्रमित निको भएसँगै २८ हजार ७३७ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमण मुक्त हुनेमा मोरङमा १२ हजार ६८४, सुनसरीमा आठ हजार ६५९, झापामा चार हजार ३९२, उदयपुर ४८२, इलाममा ४४७, सङ्खुवासभा ३२८, धनकुटामा १८७, पाँचथरमा १४१, ताप्लेजुङमा ११४ तेह्रथुममा ११२, खोटाङमा ९३, भोजपुरमा ८३, ओखलढुङ्गा ४५, सोलुखुम्वुमा ३५ जना रहेका मन्त्रालयले जनाएको छ । प्रदेश बाहिरका ९३७ जना निको भएका छन् । मन्त्रालयका अनुसार अहिले होम आइसोलेशनमा ६५८ सङ्क्रमित रहेका छन् । प्रदेशमा अहिलेसम्म दुई लाख नौ हजार ९४९ जनाको पिसिआर परीक्षण गर्ने कार्य सम्पन्न गरिएको छ ।