सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । आज एकै दिन दुई हजार ६५ जनामा सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा १३ हजार ११७ जनामा परीक्षण गर्दा दुई हजार ६५ जनामा सङ्क्रमण देखिएको हो । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमित ३७ हजार ५९९ रहेका छन् । त्यस्तै ५०० भन्दा बढी सङ्क्रमण भएका जिल्ला २० रहेका छन् । सो अवधिमा एक हजार ३३७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म सात लाख आठ हजार २३० निको भई घर फर्किएका हुन् । सङ्क्रमणबाट विगत २४ घण्टामा २५ जनाको ज्यान गएको छ । अहिलेसम्म १० हजार ६६३ को सङ्क्रमणबाट निधन भएको छ । नेपालमा प्रतिदश लाखमा ३५९।४ जनाको सङ्क्रमणको कारणले निधन हुने गरेको छ । यस्तै ६२२ सघन उपचार कक्ष (आइसियु०), १७१ भेन्टिलेटर, ३४ हजार ६७३ होम आइसोलेसन, दुई हजार ९२३ संस्थागत आइसोलेसन र ३३७ सङ्क्रमित क्वारेन्टिनमा छन् । एकैदिन आज एक लाख ७९ हजार ८६५ ले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ५० लाख ६३ हजार ५२२ ले पहिलो मात्राको खोप र ४० लाख ५२ हजार ७६५ जनाले पूर्णमात्राको खोप लगाइसकेको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा ४८४ मा सङ्क्रमण पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ४८४ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक हजार ६९ को पीसीआर परीक्षण गर्दा २९७ र ९४५ को एन्टिजेन परीक्षण गर्दा १८७ मा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार मोरङमा १२३ मध्ये विराटनगरमा ६३, झापामा ९८, सुनसरीमा ५३, धनकुटामा नौ, इलाममा छ, पाँचथरमा दुई, खोटाङ, उदयपुर र सङ्खुवासभामा एक एक र प्रदेश बाहिर तीन जनामा सङ्क्रमण देखिएको हो । प्रदेशमा आजै ४९१ कोरोना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमण मुक्त हुनेमा २२६ महिला र २६५ पुरुष छन् । पछिल्लो २४ घण्टामा दुई महिलासहित छ जनाको सङ्क्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
गण्डकीमा ५४५ जना कोरोना मुक्त गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ५४५ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । सो अवधिमा ३५० सङ्क्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेशमा २४ घण्टाको अवधिमा कोरोना सङ्क्रमण भई ६ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा कास्कीका तीन, स्याङ्जाका दुई र पर्वतका एक छन् । योसँगै प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या एक हजार २७४ पुगेको निर्देशनालयले जनाएको छ । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार ८६० पुगेको छ भने हाल तीन हजार ४२० होम आइसोलेसनमा छन् ।