सोसल मिडिया
Contact Us
युनिकोड
काभ्रेपलाञ्चोक। पनौती नगरपालिकाले कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग प्रदान गर्ने भएको छ । नगरपालिकाका ११ महिलासहित २२ जनाको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएको नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । हालै सम्पन्न नवौँ नगरसभाले कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएकाको परिवारलाई रु २५ हजारका दरले आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो । यसका लागि नगरपालिकाले मृतकको कागजातसहित स्वास्थ्य शाखामा सम्पर्क गर्न सम्बन्धित परिवारलाई आग्रह गरेको छ । “नगरसभामा निर्णय भएअनुसार कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएकाको परिवारलाई रु २५ हजारका दरले आर्थिक सहयोग गर्दैछौँ”, नगरप्रमुख भीम न्यौपानेले भने । उनका अनुसार आजदेखि सम्पर्कमा आएका मृतकको परिवारलाई उक्त सहयोग रकम हस्तान्तरण गरिनेछ । हाल नगरपालिका भित्रका १२ महिलासहित ४६ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् । पनौती नगरपालिकाका सबै सङ्क्रमित होम आइसोलेसनमै रहेको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी)ले जनाएको छ ।