थप दुई हजार ४८२ मा सङ्क्रमण

बुधबार, भदौ ९, २०७८

काठमाडौँ ।  पछिल्लो २४ घण्टामा दुई हजार ४८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो समय १५ हजार २९० जनाको परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । सो अवधिमा एक हजार ८१ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म नेपालमा सात लाख तीन हजार ९६४ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९३ दशमलव ५ प्रतिशत छ ।      हालसम्म नेपालमा ४३ लाख चार हजार ६७२ जनाको कोरोना परीक्षण भएकामा आठ लाख ३४ हजार ४५० मा सङ्क्रमण देखिएको छ । हालसम्म सात लाख तीन हजार ९६४ सङ्क्रमणमुक्त  भएको मन्त्रालयले जानकारी गराएको छ ।   
हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३८ हजार २८७ रहेको छ । होम आइसोलेसनमा ३५ हजार २५० छन् भने  संस्थागत आइसोलेसनमा तीन हजार ३७ छन् । देशभर ६१० सङ्क्रमितको सघन उपचार कक्षमा तथा १६१ सङ्क्रमितको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । 
 
चौवालीस सङ्क्रमितको मृत्यु  

पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट थप ४४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ६१२ पुगेको मन्त्रालयले जनाएको छ ।  

काठमाडौँ उपत्यकामा ५४५ सङ्क्रमित थपिए 

सो अवधिमा काठमाडौँ उपत्यकामा ५४५ जना सङ्क्रमित थपिएका छन् । तीमध्ये काठमाडौँमा ५१५, ललितपुरमा ८८ तथा भक्तपुरमा १४२ जनामा भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

प्रदेश नं १ मा ६११ जनामा कोरोना सङ्क्रमण
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ६११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक हजार ३५५ जनाको पीसीआर परीक्षण गर्दा ३३८ र एक हजार ७४ जनाको एन्टिजेन परीक्षण गर्दा २७३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङमा ११३, सुनसरीमा १०८, झापामा ८६, धनकुटामा १४, इलाममा पाँच, उदयपुरमा चार, सङ्खुवासभामा तीन, भोजपुर र खोटाङमा एक÷एक र प्रदेश बाहिरका तीन जनामा सङ्क्रमण देखिएको हो ।
सो अवधिमा प्रदेशमा आजै ५५४ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २६० महिला र २९४ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट पाँच महिलासहित ११ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

गण्डकीमा ४९६ सङ्क्रमित थपिए
गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ४९६ जना कोरोना सङ्क्रमित थपिएका छन् भने ३८० जना सङ्क्रमणमुक्त भएका छन् ।
यस अवधिमा प्रदेशमा कोरोना सङ्क्रमणका कारण १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीका सात, स्याङ्जाका दुई तथा पर्वत, तनहुँ र बागलुङका एक-एक जना रहेको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।  योसँगै प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या एक हजार २५९ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ३९८ जना रहेको छ भने होमआइसोलेसनमा चार हजार आठ जना छन् । 
 

प्रकाशित मिति: बुधबार, भदौ ९, २०७८  २१:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार