थप दुई हजार ५२५ जनामा कोरोना सङ्क्रमण, ३५ जनाको मृत्यु

मंगलबार, भदौ ८, २०७८

काठमाडौँ । पछिल्लो २४ घण्टामा दुई हजार ५२५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या आठ लाख ३१ हजार ९६८ पुगेको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नौ हजार ९०९ जनाको पीसीआर परीक्षणमा  दुई हजार २० तथा चार हजार ९०१ जनाको एन्टिजेन परीक्षणमा ५०५ जना गरी कूल दुई हजार  ५२५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।  पछिल्लो २४ घण्टामा दुई हजार ८६ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म नेपालमा सात लाख दुई हजार १८३ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९३ दशमलव पाँच प्रतिशत रहेको छ । 
हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३८ हजार २५० रहेको छ । देशभर ६२० सङ्क्रमितको सघन उपचार कक्षमा तथा १७० सङ्क्रमितको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । यसैगरी कोरोनाविरुद्धको पहिलो खोप लगाउनेको सङ्ख्या ४९ लाख ४३ हजार ७३२ तथा पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ३८ लाख ५७ हजार ५९८ पुगेको मन्त्रालयले जनाएको छ । 

कोरोनाबाट थप ३५ को मृत्यु    
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस सङ्क्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ५६८ पुगेको मन्त्रालयले जनाएको छ ।    

काठमाडौँ उपत्यकामा ६८९ सङ्क्रमित थपिए
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ६८९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।  तीमध्ये काठमाडौँमा ५१८, ललितपुरमा ११९ तथा भक्तपुरमा ५२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । काठमाडौँमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या छ हजार ८८३, भक्तपुरमा एक हजार ४१६ तथा ललितपुरमा दुई हजार २५९ जना रहेको छ । 
गण्डकीमा ६५४ जना सङ्क्रमणमुक्त
गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ६५४ व्यक्ति कोरोना सङ्क्रमणमुक्त भएका छन् । यस अवधिमा प्रदेशमा कोरोना सङ्क्रमण हुनेको सङ्ख्या ३७४ पुगेको छ भने चार जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा तीन जना स्याङ्जाका र एक जना कास्कीका रहेका स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए।
उनका अनुसार मृत्यु हुनेमा स्याङ्जाको वालिङ नगरपालिका–८ का ७२ वर्षीया वृद्धा, भिरकोट नगरपालिका–३ का ७५ वर्षीया वृद्धा र आँधीखोला गाउँपालिका–५ का ५९ वर्षीया महिला हुन् ।  त्यस्तै कास्कीको पोखरा महानगरपालिका–१० का ७९ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यीसँगै प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या एक हजार २४७ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, भदौ ८, २०७८  २०:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार