सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप एक हजार ९२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप नौ हजार ४४३ जनाको पीसीआर परीक्षण तथा तीन हजार ७३ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । जसमा पीसीआर विधिबाट एक हजार ७०२ तथा एन्टिजेनबाट २१८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर दुई हजार २४८ सङ्क्रमित निको भएका छन् । हालसम्म छ लाख ९८ हजार १७३ जना कोरोनाबाट मुक्त भएका छन् । निको हुने दर ९३ दशमलव चार प्रतिशत रहेको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३८ हजार ७५१ रहेको छ । बितेका २४ घण्टमा देशभर १८ हजार ३२२ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर ६८१ सङ्क्रमितको सघन उपचारकक्षमा तथा १६९ सङ्क्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
थप २४ सङ्क्रमितको मृत्यु पछिल्लो समय देशमा कोरोना भाइरसको सङ्क्रमणबाट थप २४ सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार ५०९ पुगेको मन्त्रालयले जनाएको छ ।
उपत्यकामा मात्र ५६६ सङ्क्रमित थपिए काठमाडौँ उपत्यकामा मात्र पछिल्लो २४ घन्टामा कोरोना भाइरसका ५६६ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा ३९५, ललितपुरमा ११० र भक्तपुरमा ६१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । काठमाडौँमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ४२०, भक्तपुरमा एक हजार ४०० तथा ललितपुरमा दुई हजार २१८ रहेको पनि सो मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
प्रदेश १ मा ५३४ सङ्क्रमित थपिए पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ५३४ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । जसमा एक हजार ९९ जनाको पीसीआर परीक्षण गर्दा ३७० र ७३६ जनाको एन्टिजेन परीक्षण गर्दा १६४ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा एक सय ४३, मोरङमा ११२ मध्ये विराटनगरमा ४२, सुनसरीमा ९३, इलाममा सात, पाँचथरमा तीन, सङ्खुवासभामा दुई, तेह्रथुम, ताप्लेजुङ, धनकुटा र भोजपुरमा एक–एक र प्रदेशबाहिरका छजनामा सङ्क्रमण देखिएको हो । सो अवधिमा प्रदेशमा आजै ३६२ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । सङ्क्रमण मुक्त हुनेमा १५७ महिला र २०५ पुरुष छन् । यसै अवधिमा तीन महिलासहित छजनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।