सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । दक्षिण ललितपुरको महाङ्काल गाउँपालिका–२ मा अवस्थित गाउँपालिकास्तरीय मानिखेल अस्पताललाई स्वास्थ्य उपकरण सहयोग प्राप्त भएको छ । पूर्वअर्थराज्यमन्त्री उदय शमशेर राणाको विशेष पहलमा ल्याइएको तीन थान अक्सिजन ग्याससहित सिलिन्डर र एक थान अक्सिजन कन्सन्टे«टर नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वभौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले संयुक्तरूपमा आज अस्पतालका डा. अमीर बर्तौलालाई हस्तान्तरण गरे । कार्यक्रममा राणाले मुलुकमा बढिरहेको कोरोना महामारीलाई ध्यानमा राखी सो उपकरण बिरामीको स्वास्थ्यमा निकै सहयोग पुग्ने विश्वासका साथ दिइएको धारणा राखे । डा. बर्तौलाले अस्पतालले सो सामग्रीको उचित प्रयोग गरी सेवा पु¥याउने बताए । उनले भने, “आजसम्म हामीले अस्पतालबाट ८५ भन्दामाथि कोभिडका बिरामीलाई सफल उपचार गरी घर पठाइसकेका छौं।” अस्पतालमा १६ शय्याको सुविधा रहँदा अति नै निम्न वर्ग र उमेर ढल्किसकेका केही व्यक्तिलाई भने आर्थिक अवस्था हेरी निःशुल्क औषधिका साथै खानाको समेत व्यवस्था गरिदिएको र बाँकी अन्यलाई सःशुल्क उपचार गरी पठाइएको बर्तौलाले जानकारी दिए । कार्यक्रममा केही दिनपहिले वाग्मतीको गाउँपालिकास्तरीय अस्पताल, गोदावरीको बज्रबाराही चापागाउँ अस्पताल, लेले र बाँडेगाउँ प्राथमिक स्वास्थ्य केन्द्रलाई समेत स्वास्थ्य उपकरण सहयोग गरिसकेको बताइएको थियो । सो अस्पतालमा महाङ्कालका छ वडाका मानिसले सेवासुविधा लिँदै आएका छन् । हाल पनि आठ कोरोना सङक्रमितको उपचार भइरहेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक ज्ञानेन्द्र चन्दले बताए ।–रासस