थप २२ सय जनामा कोरोना भाइरस, ३३ जनाको मृत्यु

आइतबार, साउन ३१, २०७८

काठमाडौं । नेपालमा थप २,२१२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । ३३ जनाको कोभिड–१९ का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या आठ लाख सात हजार नाघेको छ भने मृतकको सङ्ख्या १०,२९२ पुगेको छ। आइतवार अपराह्न सार्वजनिक तथ्याङ्कअनुसार विगत २४ घण्टामा १२,१०६ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । तीमध्ये ४,०१८ जनाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो । 
अहिले कुल परीक्षणको १९.५ प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रायलको तथ्याङ्कले देखाउँछ । मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा १,८६७ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा कोभिडका कारण १.५ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ । सङ्क्रमितमध्ये ३५ हजारभन्दा बढी घरमा तथा ४,२८० जना संस्थागत आइसोलेशनमा छन् । अहिले ७५८ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १९३ जना भेन्टिलेटरमा छन् ।
कतिले लगाए खोप ?
अहिलेसम्म पूर्ण मात्रामा खोप लगाउनेहरूको सङ्ख्या ३३ लाख ६४ हजार नाघेको मन्त्रालयले जनाएको छ। अक्सफर्ड–एस्ट्राजेनेकाले बनाएको खोप, चीनमा निर्मित भेरो सेल र जोनसन एन्ड जोनसनको ज्यान्सेन खोप नेपाल आएका छन् । जोनसन एन्ड जोनसन खोप एक मात्रा मात्र लगाए पुग्छ भने आस्ट्राजेनेका तथा भेरो सेलको दुई मात्रा लगाउनुपर्छ ।

प्रकाशित मिति: आइतबार, साउन ३१, २०७८  १८:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार