प्रधानमन्त्री देउवालाई क्रिकेटर पारस खड्काले भेट 

आइतबार, साउन ३१, २०७८

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले भेट गरेका छन् । भेटमा प्रधानमन्त्री देउवाले दुई दशकमा नेपाली क्रिकेटले हासिल गरेका हरेक सफलता नेपालीले कहिल्यै नभुल्ने र ती रोमाञ्चक जित तथा मुलुकलाई क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा उनलाई धन्यवाद दिएकाक थिए ।  खड्काले यही साउन १९ गते अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको घोषणा गरेका थिए । नेपाल र नेपालीको शिर उँचो बनाउन जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस् भन्दै प्रधानमन्त्री देउवाले सरकारको साथ र सहयोग सधैँ रहने बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

गण्डकीका खेलकुदमन्त्रीले खेलकूदमैत्री कानून बनाउने आश्वसन 

गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री बिन्दुकुमार थापाले खेलकूदमैत्री कानून बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।  नेपाल लोकतान्त्रिक खेलकूद सङ्घ गण्डकीद्वारा पोखरा रङ्गशालामा आयोजित वृक्षरोपण कार्यक्रममा उनले खेल क्षेत्रमा व्याप्त विकृति न्यूनीकरणका लागि कानून आवश्यक रहेको बताए । जापानमा सम्पन्न ओलम्पिक खेलकूद प्रतियोगितामा पाँच खेलाडीका पछाडि २५ जना प्रशिक्षक बनेर जाँदा खेलाडीको सम्मान नभएको टिप्पणी गर्दै उनले छिट्टै गण्डकीमा मुख्यमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्ने लक्ष्य रहेकोसमेत जानकारी गराए ।  नेपाल लोकतान्त्रिक खेलकूद सङ्घका केन्द्रीय अध्यक्ष देवेन्द्रकुमार शेरचनले खेल क्षेत्रभित्रको विकृति विसङ्गतिको अन्त्यका लागि लोकतान्त्रिक खेलकूद सङ्घ निरन्तर लागि रहने बताए । 
लोकतान्त्रिक खेलकूद सङ्घ गण्डकी अध्यक्ष हरिश्चन्द्र पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेसका नेता सोभियतबहादुर अधिकारी, काँग्रेस क्षेत्र नं १ का सभापति बृजमान गुरुङ, पोखरा– ९ का वडाध्यक्ष रामराज लामिछाने, सङ्घका उपाध्यक्ष विद्या मरासिनी, प्रदेशका सहसचिव हरि खनाललगायतले खेलकूदको महत्वमाथि प्रकाश पारेका थिए । पोखरा रङ्गशालालाई हरियालीमैत्री बनाउने लक्ष्यका साथ आयोजित कार्यक्रममा विभिन्न जातका ७५ बिरुवा रोपिएको थियो । 
 

प्रकाशित मिति: आइतबार, साउन ३१, २०७८  ०८:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार