मादक पदार्थ र सुर्तीजन्य वस्तुको न्यूनीकरणमा प्रदेश सरकार सक्रिय : मन्त्री मल्ल

शुक्रबार, कात्तिक २७, २०८३

मुगु । मानव स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने मादक पदार्थ, सुर्तीजन्य वस्तु तथा अन्य लागु औषधको प्रयोग न्यूनीकरण गर्न कर्णाली प्रदेश सरकार सक्रिय रहेको सामाजिक विकास मन्त्री जित बहादुर मल्लले बताए । जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुको वार्षिक कार्यक्रम अन्तर्गत आयोजित ‘सुर्तीजन्य पदार्थ तथा मदिरा नियमन एवं नियन्त्रणका लागि समन्वय बैठक तथा अनुगमन कार्यक्रम’ मा बोल्दै मन्त्री मल्लले तराईदेखि हिमालसम्मका बस्तीहरूमा युवायुवतीहरू कुलतमा फस्दा अकालमै ज्यान गुमाउनुपरेकोप्रति चिन्ता व्यक्त गरे । उनले यस्ता वस्तुको सेवन नियन्त्रण गर्न प्रदेश सरकारले विभिन्न कदम र प्रयासहरू अगाडि बढाइरहेको जानकारी दिए । कार्यक्रममा बोल्दै पत्रकार विनोद कुमार मल्लले सदरमुकाम गमगढी बजार लगायत जिल्लाभर घरेलु तथा अन्तःशुल्क मदिरा र सुर्तीजन्य वस्तुको गैर कानुनी खरिद–बिक्री भइरहेको बताए । कुलतका कारण दिनप्रतिदिन गाउँहरू युवाविहीन बन्दै गइरहेको उल्लेख गर्दै उनले अवैध कारोबार रोक्न सरोकारवाला निकायले कडा कदम चाल्नुपर्नेमा जोड दिए । सहायक प्रमुख जिल्ला अधिकारी धनकृष्ण पाण्डेले जिल्ला अनुगमन समितिको अनुगमनका क्रममा ठुला पसलहरूले इजाजत पत्र लिएर कारोबार गरेको पाइए पनि साना, घुम्ती र खुल्ला पसलहरूले बिना इजाजत बिक्री–वितरण गर्ने गरेको बताए । त्यस्ता व्यवसायीलाई कानुनी दायरामा आउन र समयमै इजाजत पत्र लिएर मात्र कारोबार गर्न सुझाव दिइएको उनले जानकारी दिए । यस्तै, मुगु उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष रत्नसिंह मल्लले सरकारको नियमअनुसार राजश्व तिरेर र इजाजत पत्र लिएर मात्र व्यवसाय सञ्चालन गर्न व्यापारीहरूलाई आग्रह गरे । कानुनी प्रक्रिया, जरिवाना र असल व्यावसायिक अभ्यासबारे संघले निरन्तर जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको उनको भनाइ थियो । कार्यक्रममा सुर्तीजन्य पदार्थ ९नियन्त्रण र नियमन गर्ने० ऐन, २०६८ का मुख्य प्रावधानहरूबारे समेत जानकारी गराइएको थियो । ऐनअनुसार सरकारी कार्यालय, शिक्षण तथा स्वास्थ्य संस्था, सार्वजनिक सवारी, होटेल र कार्यस्थलमा धूम्रपान तथा सुर्ती सेवन पूर्ण रूपमा निषेध गरिएको छ । यस्ता स्थानमा निषेधको सूचना टाँस्नुपर्ने र सुर्तीजन्य पदार्थको विज्ञापन तथा प्रवर्द्धन गर्न नपाइने व्यवस्था छ । ऐनको दफा १७ अनुसार सार्वजनिक स्थलमा सुर्ती सेवन गर्नेलाई सुरुमा रोक लगाउने र अटेर गरेमा बाहिर निकाल्ने वा रु। १०० जरिवाना वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको छलफलमा जानकारी दिइयो । जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका निमित्त व्यवस्थापक डा। दिपेन्द्र जंग शाहीले मदिरा र सुर्तीजन्य पदार्थको अत्यधिक प्रयोगका कारण जिल्लामा सर्नेभन्दा नसर्ने रोगका बिरामीको संख्या बढेको बताए । उनका अनुसार अस्पतालमा दम, उच्च रक्तचाप, मधुमेह, मुटु रोग र मदिरा सेवनका कारण चोटपटक लागेका बिरामीहरू बढी आउने गरेका छन् । यस्ता समस्या न्यूनीकरण गर्न कार्यालयले लागु औषध र सुर्तीजन्य पदार्थको असरबारे विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको डा. शाहीले बताए ।  

प्रकाशित मिति: शुक्रबार, कात्तिक २७, २०८३  १४:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार