सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय हितलाई प्राथमिकता दिन आग्रह गरेका छन् । उनले आफ्नो प्रधानमन्त्रीत्वकालमा भारतसँग अघि बढाइएका पञ्चेश्वर परियोजना, त्रिदेशीय विद्युत् व्यापार तथा कृषि क्षेत्रसँग सम्बन्धित सहमति र समझदारीलाई निष्कर्षमा पु¥याउन सुझाव दिए । नेपाल न्यूज बैंकसँगको कुराकानीमा प्रचण्डले प्रधानमन्त्रीले राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर छलफल गर्ने अपेक्षा गरेको बताए । उनले भने, ‘पहिलो कुरा त नेपालको राष्ट्रिय हितलाई प्राथमिकता र केन्द्रबिन्दुमा राखेर छलफल गर्नुहुनेछ भनेर म अपेक्षा गर्छु । दोस्रो कुरा चाहिँ नेपाल–भारत सम्बन्धमा मैले पछिल्लो पटक प्रधानमन्त्री हुँदा जे–जति कामहरू अगाडि बढाएको थिएँ, मैले त चाहन्छु ती कामहरूलाई उहाँले फत्ते गर्दिनुस् ।’ प्रचण्डले आफ्नो कार्यकालमा पञ्चेश्वर परियोजना हस्ताक्षरको चरणसम्म पुगेको उल्लेख गर्दै त्यसलाई टुङ्ग्याउन सके नेपाल र भारत दुवैका लागि ऐतिहासिक सहमति हुने बताए। उनले विद्युत् व्यापारसँग सम्बन्धित त्रिदेशीय सहमति र कृषिको विकासका लागि भएका समझदारीलाई पनि अघि बढाउनुपर्ने धारणा राखे । उनले भने,‘पञ्चेश्वर करिब–करिब हस्ताक्षर हुने ठाउँमा पुगेको थियो । पञ्चेश्वर परियोजनालाई हामीले टुङ्ग्याएको भए नेपाल–भारत दुवैको लागि एउटा ऐतिहासिक सहमति हुन्थ्यो । त्यसलाई टुङ्ग्याउनेबारे, अब विद्युत् व्यापारसँग सम्बन्धित त्रिदेशीय पनि जहाँ पुगेको छ, त्यसलाई पनि र अन्य कुराहरू चाहिँ यो कृषिको विकासको निम्ति पनि केही सहमति समझदारीहरू भएका थिए । ती सहमति समझदारीहरू अगाडि जाउन् भन्ने म चाहन्छु ।’ प्रचण्डले प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्रीहरूसँग पनि अनुभव र सुझाव लिनुपर्ने बताए । यद्यपि, प्रधानमन्त्रीले आफूलाई के ठान्नुभएको छ भन्ने कुरा जनताले पनि हेरिरहेको उहाँको टिप्पणी थियो । उनले भने, ‘अहिले उहाँको भ्रमण मलाई थाहा छैन किनभने उहाँ त्यति धेरै छलफल गर्ने, पूर्वप्रधानमन्त्रीका नि केही अनुभव छन् कि भन्ने खाले पर्नुभएन अहिलेको प्रधानमन्त्री । उनले आफूलाई के ठान्नुभएको छ भन्ने कुरा त अब नेपाली जनता, तपाईंहरूले नि हेरिराख्नुभएकै छ ।’ प्रचण्डले प्रधानमन्त्रीले राम्रो काम गरेमा आफ्नो साथ र सहयोग रहने र गलत काम गरेमा आलोचना गर्ने स्पष्ट पारे । आफूले यसअघि पनि संसद्मा बोल्दा सरकारलाई राम्रो काम गर्न आग्रह गर्दै सहयोग गर्ने प्रतिबद्धता जनाएको उनले स्मरण गरे । ‘मैले पहिलो चोटी पार्लियामेन्टमा बोल्दाखेरि राम्रो गर्नुस्, हाम्रो सहयोग हुन्छ भनेकै हो । अहिले पनि भनेका छौँ, राम्रो गर्नुभयो भने राम्रोमा हाम्रो साथ नै हुन्छ भनेर’उनले भने ।