दुई दिने राजकीय भ्रमणका लागि भोलि प्रधानमन्त्री भारत जाने

शनिबार, मंसिर ५, २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) यही नोभेम्बर २२ देखि २३, २०२६ सम्म भारतको राजकीय भ्रमणमा जाने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा यही नोभेम्बर २२ देखि २३ तारिख भारतको राजकीय भ्रमणमा जाने भएका हुन् ।  गत मार्च २०२६ मा प्रधानमन्त्रीको पदभार सम्हालेपछि शाहको यो पहिलो भारत भ्रमण हुनेछ । भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतकी राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, नोभेम्बर २३ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शाहबीच द्विपक्षीय वार्ता हुनेछ । वार्ताका क्रममा नेपाल–भारत सम्बन्धका समग्र पक्षको समीक्षा गर्नुका साथै आपसी हितका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा विचार आदानप्रदान हुने जनाइएको छ । ऐतिहासिक, सांस्कृतिक तथा सभ्यतागत सम्बन्ध र जनस्तरको घनिष्ठ सम्बन्धमा आधारित नेपाल र भारतबीच लामो समयदेखि मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको छ । पछिल्लो समय दुई देशबीच व्यापार तथा वाणिज्य, विकास साझेदारी, ऊर्जा तथा जलस्रोत, भौतिक पूर्वाधार र डिजिटल कनेक्टिभिटीलगायतका क्षेत्रमा सहकार्य विस्तार हुँदै गएको छ । यसका अतिरिक्त स्टार्टअप, प्रविधि, नवप्रवर्तन तथा खेलकुदजस्ता नयाँ क्षेत्रमा समेत दुई देशबीचको सहकार्य र सहभागिता बढ्दै गएको छ । नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानको परम्परालाई निरन्तरता दिने यस भ्रमणले भारतको ‘छिमेक पहिलो’ नीतिअन्तर्गत नेपाललाई दिइएको प्राथमिकता प्रतिबिम्बित गर्ने बताइएको छ । प्रधानमन्त्री शाहको भारत भ्रमणले नेपाल–भारतबीचको विद्यमान सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आपसी हित र साझा प्राथमिकताका क्षेत्रमा सहकार्यलाई नयाँ गति दिने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर ५, २०८३  १३:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार