Tihar Banner
Tihar Banner

कोप–३१ मा पर्वतीय मुद्दा उठाउन पाँच देशको साझा पहल

मन्त्री चौधरी र खनाल उच्चस्तरीय छलफलमा सहभागी
बिहीबार, कात्तिक २६, २०८३

काठमाडौं । टर्कीको अन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) अन्तर्गत पर्वतीय क्षेत्रले सामना गरिरहेका जलवायु चुनौती र वित्तीय आवश्यकताबारे उच्चस्तरीय छलफल भएको छ । नेपालसहित पाँच देशको संयुक्त आयोजनामा बिहीबार सम्पन्न कार्यक्रममा कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरी र परराष्ट्र मन्त्री शिशिर खनाल सहभागी भएका हुन् । नेपाल, किर्गिज गणतन्त्र, ताजिकिस्तान गणतन्त्र, पाकिस्तान र भुटानको संयुक्त आयोजनामा ‘पर्वतीय मुद्दाको प्रवर्द्धन ः तापक्रम वृद्धिले निर्धारित सीमा नाघ्ने अवस्थामा हिमनदी, हिम क्षेत्रको उत्थानशीलता, साझा उत्तरदायित्व र दिगो वित्तीय व्यवस्था’ विषयक उच्चस्तरीय कार्यक्रम आयोजना गरिएको हो । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी निकायको आधिकारिक कार्यतालिकाअनुसार उक्त कार्यक्रम नोभेम्बर १२ मा अन्ताल्यास्थित सम्मेलन केन्द्रको कापाडोक्या बैठक कक्षमा स्थानीय समयअनुसार बिहान १०ः४५ देखि दिउँसो १२ः३० बजेसम्म आयोजना गरिएको थियो ।  कार्यक्रममा विश्वव्यापी तापक्रम वृद्धि नियन्त्रणका निर्धारित लक्ष्य नाघ्ने जोखिम, हिमनदी तथा हिम क्षेत्रमा पर्ने प्रभाव, पर्वतीय समुदायको जलवायु अनुकूलन क्षमता र त्यसका लागि आवश्यक दिगो वित्तीय व्यवस्थालाई प्रमुख छलफलका विषय बनाइएको थियो । पर्वतीय क्षेत्रहरू जलवायु परिवर्तनको प्रभावप्रति संवेदनशील मानिन्छन् । तापक्रम वृद्धिसँगै हिमनदी पग्लिने, हिमतालको जोखिम बढ्ने तथा जलस्रोत, कृषि र स्थानीय जीविकोपार्जनमा पर्ने असरका कारण यस्ता क्षेत्रका मुलुकले साझा चुनौती सामना गरिरहेका छन् । नेपालका लागि हिमनदी तथा हिम क्षेत्रको संरक्षण वातावरणीय मुद्दा मात्र नभई जलस्रोत व्यवस्थापन, विपद् जोखिम न्यूनीकरण, पूर्वाधार सुरक्षा र पर्वतीय समुदायको जीवनयापनसँग प्रत्यक्ष जोडिएको विषय हो । त्यसैले अन्तर्राष्ट्रिय जलवायु वार्तामा पर्वतीय क्षेत्रका विशेष समस्या पहिचान गराउने, जलवायु अनुकूलनमा वित्तीय स्रोतको पहुँच विस्तार गर्ने तथा प्रभावित देशहरूबीच सहकार्य बढाउने विषय महत्त्वपूर्ण रहँदै आएको छ । नेपालले कोप–३१ मा पर्वतीय मुद्दालाई प्राथमिकताका साथ प्रस्तुत गर्ने नीति लिएको छ । परराष्ट्र मन्त्रालयले सम्मेलनअघि जारी गरेको विज्ञप्तिमा समेत नेपालसहित पाँच देशले संयुक्त रूपमा आयोजना गर्ने उच्चस्तरीय कार्यक्रमलाई नेपाली प्रतिनिधिमण्डलको प्रमुख सहभागिताका रूपमा उल्लेख गरेको थियो ।  परराष्ट्र मन्त्री खनालको नेतृत्वमा सम्मेलनमा सहभागी नेपाली प्रतिनिधिमण्डलमा मन्त्री चौधरीसहित राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. सञ्जय आचार्य, मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्र तथा अन्य सरकारी अधिकारीहरू सहभागी छन् । कोप–३१ नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्ताल्यामा सञ्चालन भइरहेको छ । सम्मेलनमा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण, अनुकूलन, वित्तीय सहयोग तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताको कार्यान्वयनलगायत विषयमा छलफल भइरहेको छ । नेपालसहित पाँच देशले संयुक्त रूपमा पर्वतीय मुद्दा उठाउन गरेको पहलले हिमालयलगायत विश्वका संवेदनशील पर्वतीय क्षेत्रका साझा चुनौतीलाई अन्तर्राष्ट्रिय जलवायु वार्तामा प्राथमिकता दिलाउने प्रयासलाई अघि बढाएको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २६, २०८३  १६:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार