Tihar Banner
Tihar Banner

भीमफेदी दुर्घटनाले सुन्दरपुर शोकमा, एउटै परिवारका ६ जनाको मृत्यु

बिहीबार, कात्तिक २६, २०८३

सर्लाही । छठ पर्व मनाउन परिवारसँग भेटघाट गर्ने र खुसी साटासाट गर्ने सपना बोकेर काठमाडौँबाट सर्लाही फर्किंदै गरेका यात्रुहरूको यात्रा मकवानपुरको भीमफेदीमा भएको दर्दनाक दुर्घटनासँगै सदाका लागि अन्त्य भएको छ । दुर्घटनामा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका १३ जनासहित चालकको मृत्यु भएपछि सिंगो गाउँ शोकमा डुबेको छ । मधेश प्रदेश ०३–००१ ज ००८ नम्बरको यात्रुवाहक विद्युतीय हाइस गाडी बिहीबार बिहान ५ः५५ बजे मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा सडकबाट करिब पाँच सय मिटर तल भिरमा खसेको थियो । दुर्घटनामा चालकसहित १४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । छठ पर्वको तयारीमा जुटेको सुन्दरपुर गाउँमा दुर्घटनाको खबर फैलिएसँगै उत्सवको वातावरण एकाएक शोकमा परिणत भएको छ । रोजगारीका सिलसिलामा काठमाडौँमा बस्दै आएका गाउँलेहरू परिवारसँग छठ मनाउन घर फर्किंदै गर्दा दुर्घटनामा परेपछि गाउँभरि रुवाबासी चलेको छ । मृतकका आफन्त, छरछिमेक र परिवारजन शोकमा डुबेका छन् । स्थानीय नितेश कुमारका अनुसार दुर्घटनाको खबरपछि सुन्दरपुरको अवस्था अत्यन्तै पीडादायी बनेको छ । आफन्तहरू घरमा शव आउने प्रतीक्षामा छन् । कुनै आफन्त वा चिनजानको व्यक्ति घर पुग्दा पनि परिवारजनको चिच्याहटले गाउँ नै स्तब्ध हुने गरेको उहाँले बताए । दुर्घटनाले सबैभन्दा ठूलो बज्रपात सुन्दरपुरकी निर्मला देवीको परिवारमा परेको छ । उनको परिवारका ६ जनाको यस दुर्घटनामा मृत्यु भएको छ । श्रीमान् राम सुनर रायको आठ वर्षअघि निधन भएपछि जेठा छोरा अवधेश यादवले काठमाडौँको जडीबुटी क्षेत्रमा तरकारी व्यापार गरेर परिवारको पालनपोषण गर्दै आएका थिए । छठ पर्व मनाउन अवधेशले बुधबार राति श्रीमती पुनम यादव, छोरीहरू १० वर्षीया अनु यादव, सात वर्षीया दीक्षा यादव, पाँच वर्षीया दीपिका यादव, छोरा कात्तिक यादव तथा भाइहरू २५ वर्षिइ विकेश यादव र १६ वर्षिय सुधेश यादवलाई गाडी चढाएर घर पठाएका थिए । आफू काठमाडौँमै बसेका कारण अवधेश भने सुरक्षित छन् । तर, उनले घर पठाएका आफन्तमध्ये १६ महिने छोरा कात्तिक मात्र जीवित छन् । उनी पनि घाइते अवस्थामा छन् । अवधेशकी श्रीमती पुनम आठ महिनाकी गर्भवती थिइन् । उनका भाइ विकेश इन्जिनियरिङ अध्ययन पूरा गरेर घर फर्किंदै थिए । परिवारसँग छठ मनाउने र आमासँग खुसी साट्ने उनीहरूको सपना दुर्घटनाले चकनाचुर बनाएको छ । एउटै परिवारका सदस्य गुमाउँदा निर्मला देवीको घर अहिले शोकमा डुबेको छ । त्यस्तै, सुन्दरपुरका निरशु यादवले छोरा ४० वर्षीय राकेश राय र १४ वर्षीय नाति रोहन राय गुमाएको छ । घरअगाडि बसेर उनी अहिले छोरा र नातिको शव आउने प्रतीक्षामा छन् । परिवारका महिलाहरू विक्षिप्त अवस्थामा छन् । राकेशकी श्रीमती छठ मनाउन दुई नातिनी र एक नातिलाई लिएर दुई दिनअघि नै गाउँ आइसकेकाले उनीहरू भने सुरक्षित रहेका छन् । यसै दुर्घटनामा निरशु रायका भाइ चन्देश्वर रायका २५ वर्षीय छोरा सुवोध रायको समेत मृत्यु भएको छ । सुन्दरपुरकै निरस रायको परिवारमा पनि अर्को ठूलो विपत्ति परेको छ । उनका दुई छोरा एउटै गाडीमा घर फर्किंदै थिए । तीमध्ये २५ वर्षीय रामदुलार रायको दुर्घटनामा मृत्यु भएको छ भने ३० वर्षीय देवेन्द्र राय घाइते भएका छन् । आँखाभरि आँसु पार्दै निरस रायले केही वर्षअघि जेठा छोरा रोजगारीका लागि भारतको मुम्बईमा रहँदा निधन भएको पीडा सुनाए । अहिले फेरि काठमाडौँबाट घर फर्किंदै गर्दा अर्को छोरा गुमाउनुपरेको उनको भनाइ छ । जीवित रहेका छोरा पनि घाइते भएकाले उपचारमा सहयोग गरिदिन उनले आग्रह गरेका छन् । त्यस्तै, सुन्दरपुरका अमिरी रायका २ वर्षीय छोरा राम प्रवेश यादवको पनि दुर्घटनामा मृत्यु भएको छ । प्रमोद यादवका छोरा २६ वर्षिय गुड्डु यादव र बुहारी २४ वर्षकी गायत्री देवीले समेत ज्यान गुमाएका छन् । उनीहरूका पाँच वर्षीय छोरा सक्षम यादव र तीन वर्षीय छोरा सुजन यादव दुर्घटनामा घाइते भएका छन् । कलिला उमेरमै दुवै बालबालिकाले अभिभावक गुमाउनुपरेको छ । दुर्घटनामा गाडीका चालक कविलासी नगरपालिका–८ का ३० वर्षीय रविशंकर मण्डलको पनि मृत्यु भएको छ । त्यस्तै, सुन्दरपुरका बासदेव रायका ३३ वर्षीय छोरा मुकेश यादव घाइते भएका छन् । रोजगारीका लागि काठमाडौँमा बसेर परिवारको भविष्य निर्माणमा जुटेका सुन्दरपुरवासी छठ पर्वमा घर फर्किंदै गर्दा भएको यो दुर्घटनाले गाउँका धेरै परिवारको खुसी खोसेको छ । कतै आमाले सन्तान गुमाएकी छन्, कतै बालबालिकाले अभिभावक गुमाएका छन् । छठको प्रसाद, पूजाको तयारी र पारिवारिक भेटघाटको प्रतीक्षामा रहेको सुन्दरपुर अहिले आफ्ना प्रियजनको अन्तिम बिदाइको तयारीमा छ । पर्वको उमंग छाउने बेला गाउँभरि शोक र पीडाको सन्नाटा फैलिएको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २६, २०८३  २०:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार