कोभिड खोप भनेर जर्मनीमा एक नर्सले आठ हजार जनालाई लगाइदिइन नुनपानी 

शुक्रबार, साउन २९, २०७८

जर्मनी । जर्मनीको एक खोप केन्द्रमा स्वास्थ्यकर्मीले कोभिड–१९ विरुद्धको खोपको साटो सलाइन पानी दिएको शङ्कापछि त्यहाँका अधिकारीहरूले ८ हजार भन्दा बढी मानिसलाई खोप दोहोर्‍याउन आग्रह गरेका छन् । नर्थ सी नजिकै फ्रिसल्यान्डस्थित खोप केन्द्रमा भएको उक्त घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।  घटनाबारे सार्वजनिक हुँदा गत मार्च र अप्रिलमा खोप लगाएका छ जनालाई मात्र नुन पानी दिइएको विश्वास गरिएको थियो । गत अप्रिलमा आरोपित स्वास्थ्यकर्मीले आफूले खोपको बोतल फुटाएपछि छ जनालाई सलाइन दिएको स्वीकार गरेकी थिइन्।  तर प्रहरी अनुसन्धानले उनले फाइजरको खोप लगाउने धेरै मानिसलाई नुनपानी खोप लगाएको पुष्टि भयो । प्रभावितहरूमध्ये धेरै ७० वर्षभन्दा माथि उमेरका जोखिम समूहका मानिसहरू भएको बताइएको छ। प्रहरीले उक्त घटना राजनीतिक स्वार्थबाट प्रेरित हुनसक्ने सम्भावना नकारेको छैन । ती स्वास्थ्यकर्मीका वकिलले त्यस आरोपलाई अस्वीकार गरेका छन् ।  यस घटनामा प्रत्यक्षदर्शीसँग बयान लिने क्रम जारी छ। हालसम्म यस घटनाविरुद्ध कुनै पनि मुद्दा दर्ता गरिएको छैन । क्षेत्रीय प्रसारक एनडीआरका अनुसार ८,५५७ मानिसहरूलाई पुनः खोप लगाउनका लागि निर्देशन दिइएको छ । तीमध्ये ३,६०० जनाले मात्र खोप दोहोर्‍याउनका लागि समय लिएका छन् । जर्मनी खोपविरुद्ध थुप्रै प्रदर्शनहरू भएको देश हो । प्रहरी निरीक्षक पिटर बेरले एक पत्रिकालाई ती ४० वर्षीया स्वास्थ्यकर्मीले सामाजिक सञ्जालमा ‘कोरोनाबारे नकारात्मक जानकारी’ लेखेकी र सरकारले भाइरसको सङ्क्रमण रोक्न लगाएको प्रतिबन्धको पनि आलोचना गरेकी बताएका छन् ।–बीबीसी 

प्रकाशित मिति: शुक्रबार, साउन २९, २०७८  १३:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार