सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । तिहारलाई लक्षित गर्दै काठमाडौँ उपत्यकामा ट्राफिक व्यवस्थापनका लागि क्विक रेस्पोन्स टिम (क्यूआरटी), मोबाइल गाडी तथा सीसी क्यामेरामार्फत निगरानी भइरहेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी नरेशराज सुवेदीले नेपाल न्युज बैंकसँगको कुराकानीमा ट्राफिक व्यवस्थापनका लागि विभिन्न साधन तथा टोली परिचालन गरिएको बताए । उनले भने, ‘हामीले ट्राफिक व्यवस्थापनका लागि ट्राफिकका साधनहरू परिचालन गरेका छौँ। हाम्रा क्यूआरटी र मोबाइल गाडीहरू परिचालनमा छन् । सीसी क्यामेराबाट पनि कन्ट्रोल रुममार्फत निगरानी गरिरहेका छौँ ।’ मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई नियन्त्रण गर्न विभिन्न स्थानमा टोली खटाइएको उनले बताए। अहिले तीव्र गति, मादक पदार्थ सेवन (मापसे) र लागु पदार्थ सेवन (लापसे) गरी सवारी चलाउने प्रवृत्तिलाई निरुत्साहित गर्न ट्राफिक प्रहरी केन्द्रित रहेको उनको भनाइ छ । मापसे तथा लापसे गरेर सवारी चलाउने केही व्यक्ति भेटिएको उल्लेख गर्दै उनले दिउँसोको समयमा यस्तो गतिविधि बढ्न सक्ने बताए । उनले भने, ‘संख्यात्मक हिसाबले धेरै त छैन, थोरै भेटिएका छन् । बिहानभन्दा दिउँसो बढ्न सक्छ, त्यसैले हामीले त्यसैमा केन्द्रित भएर काम गरिरहेका छौँ ।’ तिहारमा टीका लगाउन जाने तथा फर्किने क्रममा तीव्र गतिमा सवारी नचलाउन र मादक तथा लागु पदार्थ सेवन गरेर सवारी नचलाउन पनि सुवेदीले आग्रह गरे । ‘रमाइलो गर्ने नाममा मादक पदार्थ सेवन गरेर वा छिटो पुग्छु भनेर तीव्र गतिमा सवारी चलाउँदा ठूलो जोखिम निम्तिन सक्छ । यसले पारिवारिक रूपमा पनि ठूलो पीडा दिन सक्छ। त्यसैले सबैलाई संयमित भएर सवारी चलाउन अनुरोध गर्दछु,’ उनले भने ।