सोसल मिडिया
Contact Us
युनिकोड
सर्लाही । तिहार अर्थात् दीपावलीपछि मनाइने परम्परागत गोधन कुट्ने पर्व सर्लाहीमा आज बुधबार बिहान धुमधामका साथ मनाइएको छ । जिल्लाको सदरमुकाम मलंगवासहित विभिन्न गाउँ तथा बस्तीमा महिलाहरू एकै ठाउँमा भेला भएर धार्मिक तथा सांस्कृतिक विधिअनुसार यो पर्व मनाएका हुन् । विशेषगरी महिलाहरूको सहभागितामा मनाइने यस पर्वमा गाईको गोबरबाट बनाइएको गोलाकार प्रतिमालाई कुट्ने परम्परा रहेको छ । पर्वका अवसरमा महिलाहरू सामूहिक रूपमा भेला भई गोधन कुट्नुका साथै परिवार तथा सन्तानको सुख, शान्ति, समृद्धि र दीर्घायुको कामना गर्ने गर्छन् । यस पर्वमा गाईको गोबरभित्र राखिएको बज्र अर्थात् खेराउ निकालेर घर लैजाने र परिवारका सदस्यहरूलाई खुवाउने धार्मिक तथा सांस्कृतिक चलनसमेत रहेको छ । यसो गर्दा परिवारका सदस्य तथा सन्तानको आयु लामो हुने र सुख–समृद्धि प्राप्त हुने जनविश्वास रहिआएको छ । गोधन कुट्ने क्रममा महिलाहरूले विभिन्न परम्परागत गीतसमेत गाउने गर्छन् । परम्परागत रूपमा गोधन पर्वका लागि घरमा गाईको गोबरबाट प्रतिमा निर्माण गरी निर्धारित दिनमा पूजा गर्ने र गोधन कुट्ने गरिन् । यस वर्ष पर्व मनाउने समय एक दिन पछाडि सार्दै आज बुधबार बिहान गोधन कुट्ने पर्व मनाइएको स्थानीयले बताएका छन् । सर्लाहीको सदरमुकाम मलंगवासहित जिल्लाका विभिन्न गाउँमा महिलाहरूको उल्लेख्य सहभागितामा पर्व मनाइएको छ । मधेश प्रदेशका विभिन्न जिल्लाका साथै भारतको बिहार राज्यका गाउँहरूमा समेत यो पर्व परम्परागत रूपमा मनाउने गरिन्छ । गोधन कुट्ने पर्वले धार्मिक आस्था, पारिवारिक सुख–समृद्धिको कामना तथा पुस्तौँदेखि चल्दै आएको मौलिक संस्कृति र सामाजिक एकतालाई निरन्तरता दिँदै आएको छ । पछिल्लो पुस्तामा समेत यस्ता परम्पराको संरक्षण र निरन्तरताका लागि महिलाहरूले सामूहिक रूपमा पर्व मनाउँदै आएका छन् ।