सहज जितसँगै लुम्बिनी लायन्स एनपिएलको शीर्ष स्थानमा

मंगलबार, कात्तिक १७, २०८३

काठमाडौं । पोखरा एभेन्जर्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । पोखरालाई आज ८ विकेटले हराएको अपराजित लुम्बिनी दोस्रो जित निकाल्दै तालिकाको शीर्ष स्थानमा उक्लेको हो ।  पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हराएको लुम्बिनीले दोस्रो खेलमा भने वर्षाका कारण चितवनसँग अंक बाँडेको थियो ।  शीर्ष स्थानमा उक्लेको लुम्बिनीको ५ अंक छ । लगातार तीन खेलमा पराजित पोखरा भने अंकविहिन रहँदै  तालिकाको पुछारमा छ। जारी एनपिएलमा पोखरा एक मात्र अंकबिहिन टोली हो ।  ९८ रनको झिनो लक्ष्य लुम्बिनीले ११.४ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो। ओपनर आशिफ शेख ७ रनमा रनआउट भए। डार्सी सर्ट १३ रन बनाउँदा विपिन खत्रीको बलमा आकाश चन्दबाट क्याच आउट भए ।  सहज लक्ष्य पछ्याएको लुम्बिनीका कप्तान राहित पौडेल ४७ र निरोशन डिकवेल्ला २७ रनमा अविजित रहे। तेस्रो विकेटका लागि रोहित र निरोसनले ७७ रनको अविजित साझेदारी गरे। पोखराका लागि विपिन खत्रीले एक विकेट लिए ।  त्यसअघि टस जितेर लुम्बिनी लायन्सले बलिङ रोजेको थियो।कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लुम्बिनीले पहिला ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ९७ रन मात्र बनाउन सक्यो । पोखराका लागि चमिका करुणारत्नेले बनाएको २५ रन नै सर्वाधिक रह्यो। उनले १७ बलमा २ छक्का हान्दा रनआउट भए । विपिन खत्री ६ र आकाश चन्द १ रनमा अविजित रहे ।  कप्तान कुशल भुर्तेलले १४, मेहदी हसनले १३ र किरण ठगुन्नाले १२ रन बनाए । सदिराले ७, अर्जुन घर्ति ६, सकिब अल हसनले ३ रन बनाउँदै पेभेलियन फर्के ।  लुम्बिनीका रुवेन ट्रम्पलम्यानले सबैभन्दा प्रभावकारी रह्यो । उनले ४ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए । तिलक भण्डारीले २ तथा शेर मल्ल, अविनास गौतम र रोहित पौडेलले समान एक विकेट लिए । 
आजको पहिलो खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको थियो। जनकपुरले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ७४ रन बनाएको थियो । जवाफमा जनकपुरले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७२ रन मात्र बनाउन सक्यो ।  एनपिएलमा बुधबार कुनै खेल छैन । बिहिबार २ खेल हुनेछ । पहिलो खेलमा लुम्बिनी र जनकपुर तथा दोस्रो खेलमा काठमाडौ गोर्खाज र विराटनगरबीच हुनेछ । 

photo_455734ab-1793712595.jpg
 

प्रकाशित मिति: मंगलबार, कात्तिक १७, २०८३  २०:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार