एनपिएल : सुदूरपश्चिमको दोस्रो जित 

सोमबार, कात्तिक १६, २०८३

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले दोस्रो जित दर्ता गरेको छ ।  सोमबार भएको दोस्रो खेलमा सुदूरपश्चिमले चितवन राइनोजलाई ५ विकेटले पराजित गरेको हो । चितवनले दिएको १ सय ३० रनको लक्ष्य सुदूरपश्चिमले १६.४ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । सुदूरपश्चिमका लागि ब्राण्डोन म्याक मुलेनले सर्वाधिक ४३ रन बनाए । उनले २१ बलमा ६ चौका र २ चौका हाने। इशान पाण्डे २५ रनमा एलबीडब्लु धरापमा परे । विनोद भण्डारी ११ र सैफ जैव २ रन बनाउँदै पेभेलियन फर्के । कप्तान दीपेन्द्र सिंह ऐरी गोल्डेन डकआउट भए । आरिफ शेख २० र सेरफाने रदरफोर्ड २१ रनमा अविजित रहे ।  चितवनका लागि रन्जित कुमारले ३ विकेट लिएपनि टोलीको हार टार्न सकेन । उनले आफ्नो स्पेलमा २८ रन खर्चे । रिजन ढकाल र मौसम ढकालले समान १ विकेट लिए ।  त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय २९ रन बनाएको थियो । चितवनका लागि रवि बोपाराले सर्वाधिक ४९ रनको योगदान दिए । चौथो नम्बरमा ब्याटिङमा आएका उनले ४० बलमा ३ चौका र २ छक्का सहयोगमा ४९ रन बनाउँदा स्कट कुग्लेजिनको बलमा कप्तान दीपेन्द्र सिंह ऐरिको हातबाट क्याच आउट भए ।  डविड मलान १६ रन बनाउँदा दीपेन्द्रको बलमा विकेटकिपर विनोद भण्डारीको हातबाट क्याच आउट भए ।  ओपनर देव खनाल ७ रनमा हेमन्त धामीको बलमा एलबीडब्लु धरापमा परे । अर्जुन साउद १५ रनमा स्कट कुग्लेजिनको बलमा बोल्ड आउट भए ।  कप्तान सिकन्दर राजा १५ रनमा क्याच आउट नै भए । विवेक यादव १७ रनमा रनआउट भए ।  सुदूरपश्चिमका लागि स्कट कुग्लेजिनले २ , हेमन्त धामी, दीपेन्द्रसिंह र अनिल खरेलले समान एक विकेट लिए । सुदूरपश्चिमले चौथो खेलमा दोस्रो जित निकालेको हो । पहिलो खेलमा लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको सुदूरपश्चिमले दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको थियो । तेस्रो खेलमा भने विराटनगरसँग ३५ रनले पराजित भएको थियो ।  चितवनले भने तेस्रो खेलमा आएर पहिलो हार व्यहोरेको हो। पहिलो खेलमा विराटनगर किंग्सलाई ८ रनले हराएको चितवनले दोस्रो खेलमा भने लुम्बिनी लायन्ससँग वर्षाले खेल प्रभावित हुँदा अंक बाँडेको थियो ।  एनपीएलमा मंगलबार २ खेल हुनेछन् । पहिलो खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स खेल्नेछन् । उक्त खेल मध्याह्न साढे १२ बजे सुरु हुनेछ । दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स भिड्नेछन् । उक्त खेल साँझ ५ बजे सुरु हुनेछ । 

प्रकाशित मिति: सोमबार, कात्तिक १६, २०८३  २१:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार