विराटनगर र सुदूरपश्चिमको खेल ५–५ ओभरमा 

शनिबार, कात्तिक १४, २०८३

काठमाडौं । वर्षा रोकिएपछि नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ मा विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबीचको खेल ५–५ ओभरमा झारिएको छ ।  वर्षाका कारण आज हुनुपर्ने साविक विजेता लुम्बिनी लायन्स र चितवन राइनोजबीचको पहिलो खेल रद्द भएको थियो । अंक बाँडेपछि दुबै टोलीको समान ३ अंक पुगेको छ। लुम्बिनी र चितवन दुबैले आ आफ्नो पहिलो खेल जितेका थिए ।  आफ्नो पहिलो खेलमा लुम्बिनीसँग पराजित भएको सुदूरपश्चिमले दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले हराउँदै पुनरागमन गरेको थियो । यता विराटनगरले भने पहिलो खेलमा चितवन राइनोजसँग ६ विकेटले र दोस्रो खेलमा कर्णाली याक्ससँग ४ विकेट हार बेहोरेको थियो ।
एनपिएलमा यी दुई टोलीबीच यसअघि ३ खेल भएका छन्। जसमा सुदूरपश्चिमले २ र विराटनगरले १ खेल जितेको छ।  सन् २०२४ को पहिलो भेटमा सुदूरपश्चिमले विराटनगरलाई ९० रनले हराएको थियो । सुदूरपश्चिमले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको विराटनगर ९२ रनमै समेटिएको थियो । गत सिजन लिग चरणको भेटमा भने विराटनगरले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गरेको थियो । १ सय ४८ रनको लक्ष्य विराटनगरले ११.५ ओभरमै ४ विकेट गुमाएर पूरा गरेको थियो । तर सोही संस्करणको पहिलो क्वालिफायरमा सुदूरपश्चिमले त्यसको बदला लिँदै विराटनगरलाई ७७ रनले हराएको थियो। सुदूरपश्चिमले दिएको १ सय ५६ रनको लक्ष्य पछ्याएको विराटनगर ७८ रनमै अलआउट भएको थियो । यसअर्थमा आजको खेलमा विराटनगर आफ्नो हारको शृंखला तोड्दै बराबरी गर्ने लक्ष्यमा हुनेछ भने सुदूरपश्चिम पुरानो दबदबा कायम राख्न चाहन्छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १४, २०८३  २०:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार