इलाममा मेडिकल कलेज सञ्चालनको माग गर्दै डा. गोविन्द केसीद्वारा सत्याग्रह सुरु

बिहीबार, कात्तिक १२, २०८३

इलाम । चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग राख्दै आएका डा. गोविन्द केसीले सत्याग्रह सुरु गरेका छन् ।  इलाम, ताप्लेजुङ र पाँचथरका नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन इलाममा सरकारी मेडिकल कलेज सञ्चालन गर्नुपर्ने मागसहित उनले बिहीबार साँझ ५ बजेदेखि सत्याग्रह सुरु गरेका हुन् । डा. केसीले इलामस्थित नारायणस्थानमा सत्याग्रह सुरु गरेका हुन्। पूर्वी पहाडी जिल्लाका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले इलाममा मेडिकल कलेज सञ्चालन हुनुपर्ने उनको माग छ । उनले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि सरकारले यसअघि गरेका सहमति कार्यान्वयन नगरेको आरोपसमेत लगाएका छन्। सरकारले माग पूरा गर्ने आश्वासन दिए पनि कार्यान्वयन नगरी आफूलाई पटक–पटक झुक्याउँदै आएको उनको भनाइ छ । डा. केसीले न्यूनतम पूर्वाधार, आवश्यक प्राज्ञिक जनशक्ति र कानुनी मापदण्ड पूरा नगरी गेटामा एमबीबीएस तथा नर्सिङ कार्यक्रम सञ्चालन गर्न दिने र मापदण्डविपरीत विभिन्न कलेजमा सिट वृद्धि गर्ने निर्णय तत्काल खारेज गर्न माग गरेका छन् । त्यस्तै, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष तथा विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारलाई निलम्बन गरी उनीहरूको नियुक्ति प्रक्रिया, शैक्षिक योग्यता, अनुभव, सम्भावित स्वार्थको द्वन्द्व र पदबहालीपछिका निर्णयबारे उच्चस्तरीय निष्पक्ष छानबिन गर्नुपर्ने माग गरेका छन् । छानबिनबाट दोषी ठहरिने पदाधिकारीलाई कानुनी कारबाही गर्नुपर्ने उनको माग छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १२, २०८३  १८:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार