स्वास्थ्य र चिकित्सा शिक्षासम्बन्धी विगतका सहमति कार्यान्वयन गर्ने

बुधबार, कात्तिक ११, २०८३

काठमाडौं । सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका विभिन्न मागलाई लिएर आन्दोलनरत पक्षसँग विगतमा भएका सहमतिको समीक्षा गर्दै कार्यान्वयन हुन बाँकी विषयलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार बसेको बैठकले यसअघि भएका सहमतिको कार्यान्वयन अवस्था समीक्षा गर्दै बाँकी विषयलाई सम्बन्धित निकायबीच समन्वय गरी समयमै टुङ्ग्याउने निर्णय गरेको हो । बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता, शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकारसहितको सहभागिता रहेको थियो । स्वास्थ्य सेवा तथा चिकित्सा शिक्षासँग सम्बन्धित माग उठाउँदै आएका विभिन्न पक्षसँग सरकारले विगतमा गरेका सहमतिको कार्यान्वयन अवस्थाबारे बैठकमा छलफल भएको थियो । छलफलका क्रममा हालसम्म कार्यान्वयनमा आइसकेका सहमतिको प्रगति समीक्षा गर्नुका साथै कार्यान्वयन हुन बाँकी विषयलाई कसरी अघि बढाउने भन्ने विषयमा समेत विचारविमर्श गरिएको थियो । सरकारले यसअघि भएका सहमतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको निष्कर्ष निकाल्दै बाँकी विषय समयमै सम्बोधन गर्ने निर्णय गरेको हो । वर्तमान सरकारले विगतमा विभिन्न पक्षसँग भएका सहमतिको नियमित समीक्षा गर्ने योजनाअनुसार उक्त बैठक आयोजना गरिएको जनाइएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक ११, २०८३  २०:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार