काठमाडौंविरुद्ध जनकपुरका राहुलको उत्कृष्ट बलिङ

बिहीबार, कात्तिक १२, २०८३

काठमाडौं । राहुल यादवको घातक बलिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजलाई १ सय १५ रनमै समेटेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं १९.३ ओभरमा १ सय १५ रनमा अलआउट भयो । जनकपुरले अब जितका लागि १ सय १६ रन बनाउनुपर्नेछ ।
काठमाडौंका लागि भिम सार्कीले सर्वाधिक ३३ रन बनाए । उनले २९ बलमा ४ चौका प्रहार गरे । उनलाई ललित राजवंशीले कुशल परेराबाट क्याच आउट गराए ।
रासिद खानले १७ र ओपनर स्मित पटेलले १३ रन बनाए। सुमित महर्जनले १० तथा हरिशंकर शाहले ९ रन जोडे । कप्तान करण केसीले ८, जनादन खानले ५ र साम हेजलेटले १ रन बनाए । आदिल आलम खाता नखोली आउट भए । काठमाडौंका शीर्षक्रमका ब्याटरले राम्रो सुरुवात दिन नसक्दा टोलीले ठूलो स्कोर बनाउन सकेन ।
जनकपुरका राहुल यादवले ४ विकेट लिए । उनले आफ्नो स्पेलमा ३१ रन खर्चिए । ट्यालेन्ट हन्टबाट जनकपुरको टोलीमा आएका राहुलले यो सिजन दुई खेलमा ६ विकेट लिइसकेका छन् । उनले लगातार दोस्रो खेलको आफ्नो ओभरको पहिलो बलमै विकेट लिएका थिए ।
सैफ हसनले ११ रन खर्चेर २ विकेट लिए। मोइन अली, हरमित सिंह र ललित राजवंशीले समान १ विकेट हात पारे ।  यसअघिका २ सिजनमा दुबै टोलीले समान १ खेल जितेका थिए । पहिलोमा जनकपुर र दोस्रोमा काठमाडौं समान ५ विकेटले विजयी भएको थियो । 
काठमाडौंको यो पहिलो खेल हो । पहिलो संस्करणको विजेता जनकपुर पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो । 

प्रकाशित मिति: बिहीबार, कात्तिक १२, २०८३  १४:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार