भारतबाट कोभिशिल्ड चाँडै प्राप्त हुँदैछ : स्वास्थ्य राज्यमन्त्री 

बिहीबार, साउन २८, २०७८

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले भारतबाट खरिद गरी भुक्तानी गरिएको कोभिडविरुद्ध कोभिशिल्ड चाँडै प्राप्त हुने बताएका छन् । अघिल्लो सरकारले उक्त खोपका लागि रकम दिइसकेको थियो । उनले खोप दुरुपयोग गर्ने वा तोकिएका व्यक्तिलाई नदिएर भण्डारण गर्नेलाई कारबाही गर्न आफूले गृहमन्त्रीलाई आग्रह गरेको पनि जानकारी गराए । उनले शिक्षा र स्वास्थ्य राज्यको दायित्व भएकाले यसमा सरकारले लगानी वृद्धि र पूर्वाधार विकासमा ध्यान दिनुपर्नेमा जोड दिए ।  प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वका विषयमा आफ्नो वक्तव्यमाथि सांसदहरुका प्रश्नका जवाफ दिने क्रममा उनले अबका दिनमा स्वयंसेवक परिचालन गरी गाउँ र नगरस्तरीय खोप केन्द्र सञ्चालन गरिने जनाए ।  कक्षा १२ को परीक्षा सञ्चालन गर्दा महामारी फैलन सक्ने भएकाले परीक्षा स्थगन गरिएको उनको भनाइ थियो । उनले अनलाइनबाट खुला परीक्षाजस्ता विकल्पमा उक्त परीक्षा सञ्चालन गर्न सकिने जनाए । उनले धेरै अस्पतालमा अक्सिजन प्लान्ट राख्ने नीति लिएको र सोका लागि निजी अस्पतालले चाहेमा ५० प्रतिशत रकम अनुदान दिने जानकारी दिए । उनले कोरोना रोकथामका लागि सर्वपक्षीय र उच्चस्तरीय समिति गठनका विषयमा गम्भीररूपमा सोचिएको बताए । उनले कोभिडको तेस्रो लहरको खतरालाई ध्यान दिएर बालबालिका केन्द्रित अस्पताल र उपचार पद्धतिको उचित व्यवस्थापन गर्ने बताए । बैठकमा प्रतिनिधिसभाका सचिव गोपीनाथ मैनालीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘स्टाण्डर्स नाप र तौल (पाँचौँ संशोधन)  विधेयक, २०७६’ सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबल गरेका थिए । 

प्रकाशित मिति: बिहीबार, साउन २८, २०७८  १६:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार