सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । आईसीसी विश्व क्रिकेट ‘लिग टु’ अन्तर्गत आज आफ्नो अन्तिम खेलमा नेपालले ओमानविरुद्ध रोमाञ्चक जीत निकालेको छ । घरेलु टोली ओमानविरुद्ध १० रनको रोमाञ्चक जीत निकाल्दै नेपाल ३० अंकसहित तालिकाको शीर्ष ६ स्थानमा उक्लिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा १० विकेट गुमाएर २८० रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको ओमानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २७० रन मात्र बनाउन सक्यो । ओमानका लागि जतिन्दर सिंहले सर्वाधिक ८९ तथा हम्माद मिर्जाले ८७ रनको योगदान गरे पनि जितका लागि पर्याप्त हुन सकेन । नेपालका लागि ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान २–२ विकेट लिए । यसैगरी, कप्तान सन्दीप लामिछाने र नन्दन यादवले १–१ विकेट पतन गराए । त्यसअघि नेपालको पारीमा पूर्व कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र देव खनालले अर्धशतकीय पारी खेले । दीपेन्द्र ६९ र देव ५७ रनमा आउट हुँदा रोहितले ८० रन जोडे । बसिर अहमद १७, गुल्सन झा ५, आसिफ शेख ७, करण केसी ९ र इशान पाण्डे २९ रन बनाएर आउट भए । ओमानका साह फैजलले ५ विकेट लिए ।