सोसल मिडिया
Contact Us
युनिकोड
भैरहवा । लुम्बिनी बचाउ महाअभियान लुम्बिनी, नेपालले लुम्बिनी विकास कोषको नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्ति तत्काल बदर गर्न सरकारसँग माग गरेको छ । महाअभियानले स्थानीय योग्य व्यक्तित्वलाई उक्त पदमा नियुक्त गर्नसमेत माग गरेको हो । लुम्बिनीमा पत्रकार सम्मेलन गर्दै महाअभियानले हालै सरकारद्वारा कोषको उपाध्यक्ष पदमा आनी छोइङ डोल्मालाई गरिएको नियुक्तिले समस्त लुम्बिनीबासीको भावना, चाहना र स्थानीय स्वाभिमानमाथि गम्भीर आघात पुर्याएको आरोप लगाएको छ । पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा भनिएको छ,‘अत्यन्तै संवेदनशील, धार्मिक तथा पुरातात्विक महत्व बोकेको लुम्बिनी विकास कोष जस्तो गरिमामय संस्थाको नेतृत्वमा विवादित पृष्ठभूमिका व्यक्तिलाई ल्याइनु आफैमा खेदजनक छ । नवनियुक्त उपाध्यक्षसँग जोडिएका गम्भीर विषयहरूले संस्थाको पारदर्शिता र साखमाथि नै प्रश्नचिह्न खडा गरेका छन् ।’ सन् २०१९ मा हङकङबाट स्रोत नखुलेको १६ लाख ४९ हजार ९४० अमेरिकी डलर (करिब १८ करोड ३१ लाख रुपैयाँ) खातामा भित्र्याएपछि नेपाल राष्ट्र बैंक र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले डोल्माको बैंक खाता रोक्का गरी छानबीन अघि बढाएको महाअभियानको आरोप छ । महाअभियानका संयोजक अकरामुद्दीन खाँले कानूनी दायरा र वित्तीय पारदर्शिता स्पष्ट नभएको रकम तथा अनुसन्धानको घेरामा परेको विषयलाई ढाकछोप गर्न राजनीतिक शक्ति र दबाबको प्रयोग गरिनु वित्तीय सुशासनका दृष्टिले अत्यन्तै चिन्ताजनक भएको बताए । त्यस्तै आफ्नै आत्मकथा ‘फूलको आँखामा’ मा मातापिता तिब्बती शरणार्थीका रूपमा नेपाल आएको स्वीकार गरिएको अवस्थामा, नक्कली बुबा खडा गरी किर्ते विवरणका आधारमा वंशजको नागरिकता लिएको गम्भीर आरोपहरू सार्वजनिक भएको खाँले बताए । ‘राष्ट्रियता र कानूनी वैधानिकता जस्तो संवेदनशील विषयमा विवादित व्यक्तिलाई राष्ट्रिय धरोहरको नेतृत्व सुम्पिनु कानूनी र नैतिक दुवै दृष्टिकोणले सर्वथा गलत छ,’ उनले भने । लुम्बिनी क्षेत्रको विकास, संरक्षण र प्रवद्र्धनका लागि अहोरात्र खट्ने स्थानीय बुद्धिजीवी, बौद्ध धर्मका मर्मज्ञ तथा योग्य स्थानीय व्यक्तित्वहरूलाई पूर्णतः उपेक्षा गर्दै जनभावनाविपरीत गरिएको यो नियुक्ति ‘लुम्बिनी बचाउ महाअभियान’ लाई पूर्णरूपमा अमान्य रहेको उनले बताए । भगवान गौतमबुद्धको पावन जन्मस्थल तथा विश्वभरका बौद्ध धर्मालम्बीहरूको आस्थाको केन्द्र लुम्बिनीको गरिमा, धार्मिक पवित्रता र पारदर्शी व्यवस्थापन प्रत्येक नेपाली, विशेष गरी लुम्बिनी क्षेत्रका स्थानीय बासिन्दाहरूको पहिलो प्राथमिकता भएको खाँको भनाइ छ । महाअभियानले विवादित पृष्ठभूमिका नवनियुक्त उपाध्यक्षको नियुक्ति अविलम्ब बदर गरिनुपर्ने, लुम्बिनीको माटो, संस्कृति र धार्मिक महत्वलाई नजिकबाट बुझेका स्थानीय योग्य, निष्कलंक र विषयविज्ञ व्यक्तित्वलाई पारदर्शी रूपमा उपाध्यक्ष पदमा नियुक्त गरिनुपर्ने माग राखेको छ । आफूहरुको मागहरूलाई बेवास्ता गरी जनभावनाविपरीत निर्णय कायम राखिएमा लुम्बिनी बचाउ महाअभियान स्थानीय जनतालाई साथमा लिइ कडा चरणबद्ध आन्दोलनका कार्यक्रमहरू घोषणा गर्न बाध्य हुने संयोजक खाँले चेतावनी दिए । यसबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवार सम्बन्धित निकाय नै हुने उनको दावी छ ।