Dashain Banner
Dashain Banner

माली समुदायको परम्परागत पेसा सङ्कटमा, संरक्षण र व्यवसायीकरणको माग

आइतबार, कात्तिक १, २०८३

सुनसरी । सुनसरीको सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न स्थानमा बसोबास गर्ने माली समुदायको पुर्ख्यौली माला तथा झाप बनाउने पेसा सङ्कटमा पर्न थालेको छ । माली समुदायको पुर्ख्यौली पेसा फूलखेती, फूलको व्यापार, बगैँचा संरक्षण, विवाह, पूजा, धार्मिक अनुष्ठान, चाडपर्व तथा सामाजिक समारोहका लागि फूलका माला तयार गर्ने, घर, मन्दिर र सार्वजनिक स्थलका बगैँचा सजाउने तथा बिरुवाको संरक्षण गर्ने रहेको छ । त्यसैगरी मन्दिर, पूजापाठ र विभिन्न धार्मिक कार्यका बेला आवश्यकता अनुसार फूल तथा माला उपलब्ध गराउने एवं झाप निर्माण गर्ने आफूहरूको मुख्य पेसा अन्य समुदायका व्यक्तिले समेत अँगाल्न थालेपछि आम्दानी घट्दै गएको इनरुवा–२ का प्रकाश मालाकारले बताए । विगतमा मुख्यतः झाप बनाउने कार्यबाट ६० हजार रुपैयाँसम्म आम्दानी हुने गरेकोमा अचेल अन्य समुदायका व्यक्तिहरूले समेत यो पेसा अँगालेका कारण आम्दानी घटेको स्थानीयवासी शिवरतियाकुमारी मालाकारले बताए ।  हाल झाप निर्माणबाट प्रतिसिजन २५ हजारदेखि ३० हजार रुपैयाँसम्म मात्र आम्दानी हुने गरेको उनको भनाइ छ । झाप निर्माणमा पूरै परिवार संलग्न हुनुपर्ने र निकै मिहिनेत गर्नुपर्ने उनले बताए । दशैँ तथा छठ पर्वका बेला कागज तथा अन्य वनस्पतिबाट बनाइने यो झाप मधेसका स्थानीयको पूजा कोठाका लागि अनिवार्य मानिन्छ । एउटा झाप निर्माण गर्न करिब तीन घण्टासम्म समय लाग्ने प्रकाशले बताउनुभयो। कोठला झाप निर्माणका लागि एक–दुई महिना अगाडिदेखि नै अर्डर आउने भएकाले पहिलेदेखि नै काम सुरु गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । विशेषगरी दशैं तथा छठ पर्वका बेला झापबाट २५ हजारदेखि ५० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको उनले उल्लेख गरे ।  कोठला झाप निर्माणका लागि आवश्यक कच्चा पदार्थ भारत लगायत बाहिरी ठाउँबाट ल्याउनुपर्ने बाध्यता रहेको उहाँले जानकारी दिनुभयो। कच्चा पदार्थ तथा अन्य खर्च कटाएर वार्षिक रूपमा २५ हजारदेखि ५० हजार रुपैयाँसम्म मात्र आम्दानी बच्ने गरेको प्रकाशले बताए । माली समुदायको यो परम्परागत पेसामा अन्य समुदायको प्रवेशसँगै पेसालाई व्यवस्थित बनाउनुपर्ने चुनौती थपिएको र श्रम अनुसारको उचित मूल्य पाउन नसकिएको उहाँहरूको गुनासो छ। सीप र जाँगर भए पनि बजार र संरक्षणको अभावमा परम्परागत पेसाको आम्दानीले सामान्य घरखर्च मात्र धान्न मुस्किल हुने गरेको र अन्य खर्च जोहो गर्न वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता रहेको प्रकाशले बताए । परम्परागत पेसाको संरक्षण, बजार व्यवस्थापन तथा यसको व्यवस्थित प्रवद्र्धनका लागि स्थानीय तथा सरोकारवाला निकायले ध्यान दिनुपर्ने माग माली समुदायले गरेका छन् ।

प्रकाशित मिति: आइतबार, कात्तिक १, २०८३  १३:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार