शनिबार थपिए ४१९ जनामा कोरोना संक्रमित

७५० जना कोरोनामुक्त
शनिबार, पुस १८, २०७७

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म नेपालमा २ लाख ६१ हजार ४३८ संक्रमितको संख्या पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसैगरी २४ घण्टामा ७५० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ५३ हजार ८५७ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ५ हजार ७११ छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १९ लाख ४२ हजार ७०२ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ३६७ रहेको छ । कोरोना संक्रमणबाट २४ घण्टामा थप ६ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८७० जना पुगेको छ ।

कर्णालीका तीन जिल्लामा सङ्क्रमितको सङ्ख्या शून्य

कर्णाली प्रदेशका तीन जिल्लामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको छ । कालीकोट, रुकुमपश्चिम र मुगुमा कोरोना सङ्क्रमितको सङ्ख्या शून्यमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सबै सङ्क्रमित निको भई डिस्चार्ज भएसँगै ती जिल्ला कोरोनामुक्त भएका हुन् । यसअघि रुकुमपश्चिममा २५५, कालीकोटमा ३२८ र मुगुमा ४१ जनामा सङ्क्रमण पुष्टि भएको थियो । विभिन्न आइसोलेशनमा उपचाररत सङ्क्रमित हाल निको भई घर फर्किसकेका छन् । सामाजिक विकास मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार सुर्खेतमा ९७, दैलेखमा दुई, जाजरकोटमा १४, सल्यानमा ३१, जुम्लामा छ, हुम्लामा ११ र डोल्पामा नौ जनागरी १७० कोरोना सङ्क्रमणका सक्रिय बिरामी छन् । मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले हालसम्म कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात हजार ३५७ पुगेको जानकारी दिए । आरडिटी र पिसिआर विधिबाट ९६ हजार १०२ जनाको गरिएको परीक्षणमध्येबाट सात हजार ३५७ जनामा सङ्क्रमण पहिचान भएको हो । कर्णालीका प्रदेश अस्पताल÷पशुपक्षी रोग अन्वेषण सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, जिल्ला अस्पताल दैलेख र चौरजहारी सामुदायिक अस्पताल रुकुमपश्चिमका प्रयोगशालाबाट पिसिआर परीक्षण हुँदै आएको छ । कर्णाली प्रदेशमा कोरोना सङ्क्रमणबाट २६ जनाको मृत्यु भएको छ । तीमध्ये सबैभन्दा बढी सुर्खेतका १५ जना छन् । त्यस्तै दैलेखका छ, डोल्पा, कालीकोट, रुकुमपश्चिमका एक÷एक तथा सुर्खेतमा उपचारका क्रममा बाँकेका दुई जनाको मृत्यु भएको छ । 

पीसीआर नतिजामा भिन्नता

कोभिड–१९ को पीसीआर परीक्षणको नमुना संकलन विधिमा फरक पर्दा पनि नतिजामा भिन्नता देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको कोभिड १९ डायग्नोस्टिक ल्याबहरुको मूल्यांकन अध्ययनमा यस्तो नतिजा देखिएको हो ।
परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीले कुनै अस्पताल र प्रयोगशालाहरुले नाक र कसैले मुखबाट स्वाब लिने गरेकाले पनि रिपोर्टमा भिन्नता आएको अध्ययनमा देखिएको बताए । उनले भने, ‘नाकबाट स्बाब संकलनका आवश्यक तालिम प्राप्त गरेको हुनुपर्छ यो राम्ररी गरेको पाइएको छैन ।’
अध्ययन नेपालको ६४ वटा प्रयोगशालामा गरिएको थियो जसमा ४७ वटा सरकारी क्षेत्रका प्रयोगशाला समावेश थियो भने २१ वटा निजी क्षेत्रका प्रयोगशालाहरु समावेश थिए । हालसम्म नेपालमा कोरोनाको पीसीआर परीक्षणका लागि ८१ वटा प्रयोगशालाहरु बनिसकेका छन् जसमा ४६ वटा सरकारी तथा ३५ वटा निजी क्षेत्रका रहेका छन् । परिषदको अध्ययनमा कोभिडको पीसीआर परीक्षणका लागि बनाइएका प्रयोगशालाहरुमा परीक्षणका लागि औसत मात्रामा प्रविधि, लजिस्टिक म्यानेजमेन्ट सिस्टम रहेको पाएको छ । त्यसैगरी प्रयोगशालाहरुमा तालिमप्राप्त दक्ष जनशक्ति (माइक्रोबायोलोजिस्ट र मोलिक्युलर बायोलोजिस्ट) को कमी भएको पाइयो भने परीक्षणका लागि ल्याबहरु पनि सोही अनुसार निर्माण गरेको पाइएन । ५० प्रतिशत प्रयोगशालाहरुमा राम्रा पूर्वाधार तथा सेवा रहेका छन् जसमा निजी क्षेत्रका अझै बढी रहेका छन् । कोरोना महमारीको बेला आकस्मिक रुपमा परीक्षणका लागि बनाइएका ल्याबहरुमा सबै सुविधा पुगेका छ्रैनन् ।  केही प्रयोगशाला अन्तराष्ट्रिय मापदण्ड पूरा गर्न नसकेको पाइएको छ । ८० प्रतिशत प्रयोगशालाहरुले बायोसेफ्ट्टी क्याबिनेट राखेका छन् । १८ प्रतिशत सरकारी प्रयोगशाला तथा २३ प्रतिशत निजी प्रयोगशालामा नेगेटिभ प्रेसर रुमको निर्माण गरिएको पाइएको थियो ।
 

प्रकाशित मिति: शनिबार, पुस १८, २०७७  १८:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार